सुदूरपश्चिम खप्तड गोल्डकप: उद्घाटनमा मनाङ र दिल्ली भिड्ने
धनगढी: सुदूरपश्चिम खप्तड गोल्डकपको उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्बल र भारतको दिल्ली फुटबल क्लब भिड्ने भएका छन्।
मनाङ र दिल्लीबीचको उदघाटन खेल कैलालीको धनगढी रंगशालामा फागुन १९ गते हुने आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले जनाएको छ। प्रतियोगितामा १० टिमको सहभागिता रहने क्लबका अध्यक्ष सुरेश हमालले बताए। आयोजक सुदूरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाईसी फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, बागमती युथ क्लब, न्यूरोड टिम र मछिन्द्र फुटबल क्लब रहेका छन्।
प्रतियोगिताको फाइनल फागुन २८ मा हुने छ। नकआउट आधारमा खेलाइने प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ। उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने छन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्ने छन्।