दैजी–छेला औद्योगिक क्षेत्र शिलान्यासको एक वर्ष, रुख गणना पूरा भएन
धनगढी: नेपाल सरकार, मन्त्रिपरिषदबाट २०७२ चैत १ गते कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय भएको थियो। उक्त निर्णयअनुसार पूर्वमा मुक्तकमैया बस्ती, पश्चिममा दैजी–जोगबुढा सडक, उत्तरमा वन र दक्षिणमा चाँदनीफाँटा बस्ती भित्रको ९ सय बिघामा औद्योगिक क्षेत्र स्थापनाका लागि गत फागुन १० गते शिलान्यास गरिएको थियो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दैजी औद्योगिक क्षेत्रको शिलान्यास गरेको एक वर्ष भएको छ। तर दैजी–छेला क्षेत्रका कटान गर्नुपर्ने रुख तथा पोलहरुको गणनाको काम पनि पूरा भएको छैन। डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले रुख तथा पोल गणनाको काम जारी रहेको बताए। ‘सव–डिभिजनले काम गर्दैछ। १७ हजार रुख र पोलको छपान गरेका छौं,’ उनले भने, ‘बाँकी रुखको छपान गर्न बाँकी छ। ३५ इन्च भन्दा सानो रुखलाई पोल भनिन्छ।’
दैजी–छेला औद्योगिक क्षेत्रमा कटान गर्नुपर्ने मध्ये अहिलेसम्म १७ हजार रुख मात्र छपान गरिएको छ। डिभिजन वन कार्यालय महेन्द्रनगर अन्तरगतको सव–डिभिजन वन कार्यालयले औद्योगिक क्षेत्र स्थापना हुने क्षेत्रका रुख कटानीका लागि छपानको काम गरिरहेको हो। शिलान्यासको पाँच वर्षमा औद्योगिक क्षेत्र स्थापना हुने दाबी गरिएकोमा रुख गणनाको काम कहिलेसम्म पूरा गर्न सकिन्छ, त्यो पनि निश्चित छैन। अवस्थीले भने, ‘काम हुँदैछ। कहिलेसम्म सकिन्छ, भन्न सकिँदैन।’ औद्योगिक क्षेत्र स्थापनाका लागि गरिएको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकनमा २५ हजार ९ सय ६८ रूख काट्नुपर्ने देखिएको थियो। तर अहिलेसम्म १७ हजार रुखको मात्र गणना गरिएको छ।
२०५१ सालदेखि छेलामा औद्योगिक क्षेत्र स्थापना गर्न राजनीतिक पार्टी तथा संघ/संस्थाहरुले एजेण्डा बनाए पनि अझै रुख कटानीका लागि मन्त्रिपरिषदबाट निर्णय हुन बाँकी छ। औद्योगिक क्षेत्रमा रहेका रुख गणनाको काम बाँकी रहेकाले मन्त्रिपरिषद्बाट निर्णय नगरिएको हो। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रमुख सञ्जयलाल मानन्धरले रुख गणनाको काम पूरा नभएकाले अन्य काम सुरु नभएको बताए। ‘७० प्रतिशत रुखको छपान भएको छ। दैजीलाई हामीले जिम्मा दिएका छांै। उहाँहरुले रुख गणना गर्दै आउनुभएको छ’ उनले भने।
पहिलो चरणमा सडक, नाली र भौतिक संरचना निर्माण हुने क्षेत्रमा मात्रै रूख काटिने छन्। वेदकोट नगरपालिका वडा नम्बर २ को जनचेतना सामुदायिक वन र वडा नम्बर ३ को वेदकोट सामुदायिक वनको साढे ४ सय बिघा जमिनमा औद्योगिक क्षेत्र स्थापना हुने भनिएको छ। ९ अर्बको लागतमा उक्त क्षेत्रमा साना, मझौला र ठूला गरी एक सय २४ उद्योग स्थापना गर्ने लक्ष्य राखिएको छ।