सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ः हिमालयन ह्वाइट हाउसको दोस्रो जित

२०७८ फाल्गुन ८, ०३:०५ खबर संवाददाता

धनगढीः धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा काडमाण्डौँको हिमालयन ह्वाइट हाउस स्कुलले दोस्रो जित निकालेको छ। आज भएको पहिलो खेलमा कञ्चनपुरको शारदा सरस्वती दोधारामाथि ७९ रनको सानदार जित निकाल्दै आफ्नो दोस्रो खेलमा पनि विजयी भएको हो। 

टस हारेर ब्याटिङको निम्तो पाएको हिमालयन ह्वाइट हाउसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो। १ सय ७४ रनको विजयी लक्ष पछ्याएर जवाफी ब्याटिङ थालेको शारदाका कुनै पनि ब्याट्सम्यान हिमालयनका बलर सामु टिक्न सकेनन्। उसले १७.५ ओभरमा आफ्नो सबै विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो। शारदाका मिलन बोहराले १९, गणेश बिटालुले १४ र सागर चन्दले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहरो अङ्क छुन सकेनन्। 

शारदालाई सस्तैमा समेट्न हिमालयनका राहुल भण्डारीले महत्त्वपूर्ण ४ विकेट लिए। सन्दीप शाहले २, अनुप कुँवर, सन्दीप शाही, नारायण जोशी र दीपक बोहराले १÷१ विकेट लिए। यसअघि हिमालयनका लागि दीपक बोराको जोडीले ५० रनको साझेदारी गर्दै टिमलाई राम्रो सुरुवात दिलाएका थिए। दीपक बोहराले ३० बलमा ५ चौका र २ छक्काको मद्दतले ४८ रन बनाए। अर्का दीपकले २० बलको सामना गर्दै ३ चौका र १ छक्काको मद्दतमा ३१ रन बनाएर आउट भए। हिमालयनका लागि राहुल भण्डारीले २ छक्का र २ चौकासहित ३० बलमा ४० रनको पारी खेल्दा, वसन्त कार्की २० र अनुप कुँवरले १७ रन बनाए। 

शारदाका लागि बलिङ तर्फ मिलन बोहरा र अर्जुन सिंह साउदे समान २÷२ तथा गणेश बिटालु, प्रेम थापा र विकास सुनारले १÷१ विकेट लिए। खेलको प्लेयर अफ दी म्याच अलराउण्ड प्रदर्शन गरेका राहुल भण्डारी घोषित हुँदा गेम चेन्जर अवार्ड पनि उनैले पाए। सर्वाधिक छक्काको अवार्ड भने दीपक बोहरा सिनियर, राहुल भण्डारी, वसन्त कार्की र अनुप कुँवरले पाए। आजै दोस्रो खेलमा आयोजक लिटल फ्लावर र विद्या भूषण प्रतिस्पर्धा गर्दै छन्।
 

कमेन्ट लोड गर्नुस