सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको पूर्वीचौकी-३ लाई धुवाँमुक्त वडा बनाउन नि:शुल्क फलामे चुलो वितरण

२०७८ फाल्गुन ८, ०८:३३ खबर संवाददाता

डोटी : धुवाँका कारण मानव स्वास्थ्यमा विभिन्न समस्याहरु देखिन थालेपछि डोटीको पूर्वीचौकी गाउँपालिकामा धुवाँ रहित फलामे चुलो वितरण गरिएको छ। शनिबार मानवीय सेवामा अनेकौं प्रयास (साईन नेपाल) संस्थाले पूर्वीचौकी गाउँपालिका-३, गैरागाउँका ५ बस्तीका ३ सय घरलाई धुवाँ रहित फलामे चुलो वितरण गरेको हो। 

संस्थाका अध्यक्ष भक्तराज जोशीको सभाध्यक्ष तथा पुर्वीचौकी-३ का वडाध्यक्ष अमरबहादुर चयडाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको विशिष्ट अतिथीमा कार्यपालिका सदस्य भेरु साहु रहेका थिए। प्रमुख अतिथीको तर्फबाट बोल्दै वडाध्यक्ष चयडाले उक्त चुलोले श्वासप्रश्वासको समस्या, आँम्खाको समस्यालाई दूर गर्नुको साथै दाउराको प्रयोगमा पनि कमी आउने बताए। चुलो पाएका व्यक्तिहरुलाई अन्य प्रयोजन र गोठमा थन्काउने काम नगर्न सुझाव दिदै धुवाँमुक्त वडा बनाउन सहयोग गर्ने संस्थालाई धन्यवाद व्यक्त गरे।

त्यस्तै अतिथीहरुले निस्वार्थ रुपमा सामाजिक कार्यमा अग्रसर रहेका संस्थाका अध्यक्ष भक्तराज जोशीले देखाएको जन्मभूमि प्रतिको मायाको यस क्षेत्रका बासिन्दाले जति धन्यवाद दिएपनि नपुग्ने बताए। उनले विगतमा नदीबाट निजि लगानीमा विद्युत उत्पादन गरी बस्ती नै झिलिमिली बनाएको, शिक्षामा पहुँच पुर्‍याउन निजी विद्यालय सञ्चालन लगायतका थुप्रै कार्य गर्दागर्दै गाउँ बस्तीको सहयोग नपाएर सहर झर्नुपरेका कुरा र विकसित ठाउँमा पुगेर पनि जन्मभूमिकै दुर्गम बस्तीमा अहोरात्र खटिएका कुराहरु आम उपस्थित माझ अतिथी वक्ताहरुले छर्लङ्ग पारेका थिए। 

संस्थाका अध्यक्ष जोशीले आफ्नो देशका विभिन्न समुदायका बस्तीमा रहेका अनेकौं समस्याहरुको समाधान कसरी गर्न सकिन्छ भन्ने अठोट संकल्पका साथ आफू समाजसेवामा हिँडेको बताए। समाजमा देखिने हरेक समस्याको समाधानका लागि आफूलाई प्रयोग गरेर लैजानसक्ने सुविधाहरु लैजान समाजका नेतृत्व गण तथा बासिन्दालाई उनले अनुरोध गरे। संस्थाको केयर एण्ड रिलिफ परियोजना अन्तर्गत गैरागाउँका पातल, नागडा, गन्नपाला, धामीठाटा र चौवालाका ३ सय घरधुरीलाई सो चुलो निशुल्क वितरण गरिएको संस्थाका कोषाध्यक्ष मेघराज भट्टले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस