फिलिपिन्समाथि नेपालको सहज जित, कुशल र दिपेन्द्र चम्किए
काठमाडौंः टि–२० वल्र्डकप क्वालिफायर अन्तरगत फिलिपिन्स विरुद्धको म्याचमा नेपालले सहज जित निकालेको छ। कुशल भुर्तेल र दिपेन्द्रको शानदार साझेदारी र बलरहरुको उत्कृष्ट प्रदर्शनसँगै नेपालले लगातार दोस्रो जित हासिल गरेको हो।
नेपाल १३६ रनको जित दर्ता गर्न सफल भयो। नेपालले दिएको २१९ रनको लक्ष्य पच्छ्याएको फिलिपिन्सका लागि जोर्डन अल्गेराले अविजित २७ ड्यानीयल स्मिथले २० रन जोडे। यस्तै जोनाथम हिलले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्। नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए उनले ४ ओभर बलिङ गर्दै जम्मा ९ रन दिए। यस्तै जितेन्द्र मुखिया, दीपेन्द्रसिंह ऐरी, अविनाश बोहरा गुल्सन झा र कुशल मल्लले एक एक विकेट लिए। नेपालका लागि ओपनर कुशल भुर्तेलले आकर्षक शतक र दिपेन्द्र ऐरीले विष्फोटक अर्धशतकमा नेपालले फिलिपिन्सलाई २१८ रनको विशाल लक्ष्य दिएको थियो। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले खराब सुरुवात गरेपनि कुशल र दीपेन्द्रको बलियो साझेदारीले २१९ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
नेपालको खातामा ९ रन मात्रै हुँदा ओपनर आसिफ शेख शुन्यमा आउट भए। तेस्रो नम्बरमा पठाइएका कुशल मल्ल पनि चल्न सकेनन्। १० बलमा १२ रन बनाएर मल्ल आउट भएपछि नेपालको इनिङ कुशल भुर्तेल र दिपेन्द्र ऐरीले सम्हालेका थिए। कुशलले ६१ बलमा १३ चौका र १ छक्कासहित १०४ रन बनाउँदै अन्त्यसम्म अविजित रहे। यस्तै दिपेन्द्रले ४७ बलमा ८३ रन प्रहार गर्दा ४ छक्का र ६ चौका वर्षाए । १८ औं ओभरमा दिपेन्द्र आउट भएपछि क्रिजमा आएका लोकेश बमले ३ बलमा एक छक्का प्रहार गर्न सफल भए।
फिलिपिन्सका लागि डेनियल स्मिथ, गुरभुपिन्दर चोहान र मिगी पोडोस्कीले १–१ विकेट लिएका थिए। नेपालको यो लगातार दोस्रो जित हो।