सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी मेयर एलपीएल–६ः हिमालयन ह्वाइट हाउसको विजयी सुरुआत

२०७८ फाल्गुन ७, ०२:५१ खबर संवाददाता

धनगढीः धनगढीमा जारी धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिगमा काठ्माण्डौँको हिमालयन ह्वाइट हाउस स्कुलले अत्तरियाको एभरेस्ट एकेडेमीलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ। हिमालयनले आफ्नो पहिलो खेलमै एभरेस्टलाई ८१ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो। 

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हिमालयन ह्वाइट हाउसले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९१ रन बनायो। १ सय ९२ रनको विजयी लक्ष पछ्याएको एभरेस्टले १९।३ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय १० रन मात्रै बनाउन सक्यो। एभरेस्टका सन्दीप विष्टले ३० बलमा २९, योगेश भाटले १६ बलमा १९ र दीपक रोकायाले १५ बलमा १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक रहेन। हिमालयनको बलिङ तर्फ सन्दीप शाहीले ३, राहुल भण्डारी र सतिस यादवले २÷२, दीप बोहरा, नारायण जोशी र अनुप कुँवरले १÷१ विकेट लिए। 

पहिलो इनिङमा ह्वाइट हाउसका लागि वसन्त सिंह कार्कीले ७ चौका र ७ छक्काको मद्दतले ४९ बलमा सर्वाधिक ९२ रनको सानदार पारी खेले। त्यस्तै टिमका लागि दीपक बोहराले ३५ बलमा ४३ र राहुल भण्डारीले १२ बलमा १२ रनको योगदान गरे। वसन्त र दीपकले १ सय ३२ रनको साझेदारी पारी खेले। एभरेस्टको बलिङमा धर्मराज जोशी र मुकेश ओझाले ४ ओभर बलिङ गर्दै समान ३÷३ विकेट लिए। हिमालयनले आफ्नो पहिलो खेलमा जित निकाल्दा एभरेस्टले पहिलो हार ब्यहोर्यो। 

खेलको प्लेयर अफ दी म्याच हिमालयन ह्वाइट हाउसका वसन्त कार्की घोषित हुँदा सर्वाधिक छक्काको अवार्ड पनि उनैले पाए। गेम चेन्जर अवार्ड राहुल भण्डारीले पाए। आजै दोस्रो खेलमा गुरुकुल र विद्याभुषण प्रतिस्पर्धा गर्दै छन्। दुवै टिमलाई जित्नै पर्ने दबाब छ।
 

कमेन्ट लोड गर्नुस