कैलालीमा डोजर किनेर जनप्रतिनिधिले ठेकेदारी गर्ने प्रवृत्ति बढ्दो
धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बेलपानीमा २ सडक योजना चालू आर्थिक वर्षमा कार्यान्वयनको चरणमा छन्। १० र १५ लाखका योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन भइरहेका हुन्।
उपभोक्ता समितिले स्थानीय निर्माण व्यवसायीलाई सडक निर्माण गर्न दिएका छन्। तर ती सडक भने स्थानीय तहका जनप्रतिनिधिको डोजरमार्फत निर्माण भइरहेका छन्। स्थानीय युवाले २ हजार प्रतिघण्टा सडक निर्माणका लागि डोजर दिने भने पनि जनप्रतिनिधिको डोजर प्रयोग गर्दै २ हजार तीन सय प्रतिघण्टा खर्च गरिएको स्थानीय शिवराज जोशीले बताए। ‘हामीले २ हजार प्रति घण्टामा काम गर्छाै भनेका थियौं,’ उनले भने, ‘तर उहाँहरुले ठेक्का दिएको बताउनुभयो। वडा नम्बर १२ का एकजना सदस्यको डोजरलाई उपभोक्ता समितिले सडक निर्माणको ठेक्का दिएको रहेछ।’
बेलपानीको सडक निर्माणमा गोदावरी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य बाली साउँदको डोजर प्रयोग गरिएको हो। कैलालीमा डोजर किनेर स्थानीय सरकारका जनप्रतिनिधिले ठेकेदारी गर्ने प्रवृत्ति बढ्दै गएको हो। योजना कार्यान्वयनको जिम्मा उपभोक्ता समितिलाई दिने र आफ्नै डोजर प्रयोग गर्न लगाएर ठेकेदारी गर्ने प्रवृत्ति बढ्दै छ।
यस्तै उपभोक्ता समिति सँगको मिलेमतोमा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिले मनोमानी रुपमा दररेट निर्धारण गरेको पनि पाइएको छ। योजना छनोट, उपभोक्ता समिति गठन तथा विकास निर्माणमा उनीहरुले आफ्नो प्रभाव राख्दै आएका छन्। उपभोक्ता समितिलाई जनप्रतिनिधिले आफ्नो डोजर प्रयोग गर्न बाध्य पार्ने गरेका हुन्। यता वडा नम्बर १२ का वडाध्यक्ष भीमबहादुर खड्काले अन्य वडामा जनप्रतिनिधिको डोजर प्रयोग नभएको बताए। उनले भने, ‘वडा नम्बर ४ मा जनप्रतिनिधिले ठेक्का लिएको भन्दै गुनासो आएको थियो। हाम्रो वडाका काममा जनप्रतिनिपिधिको डोजर प्रयोग भएका छैनन्।’ उपभोक्ता समितिमार्फत कार्यान्वयन हुँदै आएका विकास निर्माणका योजनामा पनि उपकरणको प्रयोग गरिदै आएको छ।
जिल्लाको गोदावरीसँगै घोडाघोडी नगरपालिकामा पनि जनप्रतिनिधको डोजर प्रयोग हुँदै आएका छन्। नगरपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष टेकबहादुर बुढाको पनि डोजर थियो। उनले नगरपालिकाका योजना कार्यान्वयन गर्ने उपभोक्ता समितिलाई आफ्नो डोजर प्रयोग गर्न दबाब दिदै आएका आरोप लागेको छ्। तर वडाध्यक्ष बुढाले डोजर बिक्री गरेको बताए।