डडेल्धुराको अमरगढीमा सहरी शासकीय पूर्वाधार कार्यक्रम
डडेल्धुराः डडेल्धुरा जिल्लाको सदरमुकामस्थित अमरगढी नगरपालिकामा सहरी शासकीय पूर्वाधार सुधार कार्यक्रम सुरु भएको छ। विश्व बैंकको आर्थिक सहयोगमा सुदूरपश्चिमका दुई स्थानीय तहमा लागू भएको यो कार्यक्रम डडेल्धुराको अमरगढी नगरपालिकाका र कैलालीको लम्कीचुहा नगरपालिकामा आएको हो।
उक्त कार्यक्रममार्फत टोल टोलमा पिसीसी ग्रामीण बाटो, स्तरिय सडकका साथै विद्यालय पूर्वाधार समेत निर्माण भइरहेका छन्। अमरगढीका ११ आटै वडामा विभिन्न गाउँमा सडक निर्माण, ग्रामीण बाटोहरू पक्की, विद्यालय भवन मर्मत तथा रंगरोगन, फिल्ड निर्माण, स्वास्थ्य सुधार तथा सिँचाई योजना निर्माण गर्न लागेको अमरगढीका इन्जिनियर सुरेश साउँदले बताए। यस कार्यक्रमका लागि अमरगढी नगरपालिकाले २२ करोड २३ लाख प्राप्त गरेको छ। पहिलो चरणमा ६ करोड ५० लाख विनियोजन गरिएको नगरपालिकाले जनाएको छ।
प्रत्येक वडाका लागि ४० लाख रुपैयाँमा नघट्ने गरी अधिकतम १ करोड रकमसम्म विनियोजन भइरहेको अमरगढी नगरपालिकाका प्रमुख विशेश्वर प्रसाद ओझा(विपिन) ले जानकारी दिए। ओझाले यस कार्यक्रममार्फत टोलको अवस्था सुधारसँगै नगरवासीको आयस्तरमा वृद्धि हुँदा स्थानीय निकै खुसी भएको बताए।