अछाम तहसनहस भएको २० वर्ष पूरा, पुर्ननिर्माण अधुरै
धनगढी: तत्कालीन विद्रोही नेकपा माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो घाउ अछाम अक्रमणलाई मानिने गरिन्छ। आज(बुधबार) अछाम आक्रमण भएको २० वर्ष पूरा भएको छ। २०५८ फागुन ४ गते राति जिल्ला सदरमुकाम मंगलसेन र साँफेबगरमा आक्रमण भएको थियो। आक्रमणमा तत्कालीन प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्री, पत्नीसहित राष्ट्रिय अनुसन्धानका निरीक्षक, क्याप्टेनसहित ५३ सेना, ५९ प्रहरी, २ निजामती कर्मचारी र ८ सर्वसाधारणसहित १ सय २२ जनाले ज्यान गुमाएका थिए। सोही रात साँफेबगर विमानस्थलको सुरक्षा खटिएका २७ प्रहरी पनि मारिएका थिए।
आक्रमणबाट ऐतिहासिक अछाम दरबारसहित सम्पूर्ण सरकारी कार्यालय ध्वस्त भएका थिए। ती संरचना ध्वस्त बनेको २० वर्ष र पुनर्निर्माण सुरु भएको १३ वर्षसम्म पनि दरबार निर्माणको काम अधुरै रहेको छ। अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले भने, ‘बैंक लगायतका अन्य कार्यालयहरु निर्माण भएका छन्। तर दरबार निर्माणको काम पूरा भएको छैन।’
दरबारको २० प्रतिशत काम अझै बाँकी छ। काठको अभाव रहेको भन्दै छानो निर्माणको काम बाँकी रहेको सहरी विकास डोटीका प्रमुख घनश्याम श्रेष्ठले बताए। ‘तीन पटक समय थप गरिएको छ,’ उनले भने, ‘चैतसम्म समय छ। ८० प्रतिशत भौतिक प्रगति छ।’
२०६५ असार २४ गते सहरी विकासले अछाम दरबार पुनः निर्माणको सम्झौता गरेको थियो। दरबार निर्माणका लागि २ करोड २५ लाख ७३ हजारमा राजेन्द्र–साउँद–बडिमालिका–कुँवर–तुल्सी–दुर्गा जेभीसँग सम्झौता गरिएको थियो। निर्माण कम्पनीले तीनपटक समय थप गरेको छ। अन्तिम पटक थप गरिएको समय चैतमा सकिँदैछ। तर चैतमा पनि दरबार निर्माणको काम पूरा नहुने देखिएको छ।