सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सहरी सडकको निर्माण प्रभावित

२०७८ फाल्गुन ४, ०७:२३ नारायण अवस्थी

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकामा क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गतका सडकको निर्माण प्रभावित भएको छ। एशियाली विकास बैकको ऋण लगानीमा निर्माणाधिन सडकको काम प्रभावित भएको हो। सडक क्षेत्रमा पर्ने घर तथा पर्खाल हटाउन उपमहानगरपालिकाले उदासीनता देखाएको छ भने विद्युत पोल स्थानान्तरण गर्न समेत ढिलाइ भएको छ।

निर्माण व्यवसायीले भने इस्टीमेटमै त्रुटी हुँदा समस्या भएको जनाएको छ। जसका कारण सहिद गेट-क्याम्पस गेट सडक र डिभोटी-पिपल चौतारा सडक निर्माणको काम प्रभावित भएको छ। निर्माणाधिन सडकमा कालोपत्र गर्न वेस राख्नुपर्ने भए पनि पोल नहटाइदा काम प्रभावित भएको निर्माण कम्पनीले जनाएको छ।

निर्माण कम्पनीले डिभोटी-पिपल चौतारा खण्डमा चैत १ गतेदेखि कालोपत्र गर्ने तयारी गरेको छ। तर विद्युतीय पोल नहटाउँदा वेस राख्ने, सडक बत्ती राख्ने र कोलोपत्र गर्ने काम प्रभावित हुने कालिका कन्स्ट्रक्सनका सम्पर्क व्यक्ति प्रकाशचन्द्र खरेलले बताए। 'पोल सार्ने काम आयोजना कार्यालयको हो,' उनले भने, 'उपमहानगरपालिका र विद्युत प्राधिकरणले काम गर्ने भनेका छन्। तर पोल सार्ने काममा ढिलाई भए असारमा कालोपत्र गरिसक्ने योजना प्रभावित हुने भएको छ।'

सडक निर्माणको इस्टिमेट गर्दा नेपाल विद्युत प्राधिकरणसँग समन्वय नगरिँदा पोल सार्ने काममा अहिले ढिलाई भएको जनाइएको छ। इस्टिमेटमा ९ मिटरको पोल राख्ने उल्लेख भएको तर सहरी क्षेत्रमा ११ मिटरको पोल राख्नुपर्ने भएकाले कालिका कन्स्ट्रक्सन पोल सार्नबाट पन्छिएको हो। नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र प्रमुख सूर्यनारायण मण्डलले उपमहानगरपालिकाले प्राधिकरणसँग नयाँ पोल किन्ने र पुराना लग्ने सहमति भएको बताए।

'उपमहानगरपालिकाले ११ मिटरका १ सय ८० पोल हामीबाट खरिद गर्ने भएको छ,' उनले भने, 'पोल खरिदको प्रस्ताव पनि स्वीकृत भएको छ। चाँडै पोल सार्ने काम उपमहानगर र आयोजना कार्यालयले गर्ने सहमति भएको छ।' निर्माणाधिन सडकमा १ सय ८० थान नयाँ पोल आवश्यक भएको बताइएको छ। चैत १ गतेदेखि कालोपत्र गर्न फागुनभित्रै पोल हटाइसक्नुपर्ने निर्माण कम्पनीले जनाएको छ।

धनगढी उपमहानगरपालिका र आयोजना कार्यालयले तुरुन्तै पोल सार्न आवश्यक काम गर्ने आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर द्रोण कटुवालले बताए। 'पहिला नै टेण्डर गर्दा ९ मिटरको पोल राख्ने भन्ने हिसावले भएको रहेछ,' उनले भने, 'अब ११ मिटरको पोल सडकको दुबैतर्फ राख्ने गरी काम हुन्छ।' सहिद गेट-क्याम्पस गेट सडक निर्माणको काम प्रभावित छ। सडकको २० ठाउँमा परेका घर तथा पर्खाल हटाउन उपमहानगरपालिकाले समन्वय नगर्दा नाली निर्माणको काम पनि सकिएको छैन।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस