यूएनमा जागिर लगाइदिने भन्दै डोटीका युवकद्वारा करिब १९ लाख ठगी
धनगढी: आफूलाई यूएनको इन्जिनियर भन्दै जागिर लगाइदिने प्रलोभन देखाएर ठगी गर्ने डोटीका युवक पक्राउ परेका छन्। यूएनमा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिहरूबाट १८ लाख ८५ हजार ठगी गरेको आरोपमा डोटीको साबिक तोलेनी गाबिस बस्ने २६ वर्षीय दिनेश सिंहलाई प्रहरीले पक्राउ गरेको हो।
दिनेशले उक्त रकम ठगी गरी फरार भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई रुपन्देही बुटवल उपमहानगरपालिका–९ मिलनचोकबाट पक्राउ गरेको हो।
प्रहरीले उनको साथबाट १ थान ल्याप्टप, २ थान मोबाइल, पहेलो रंगको १ थान सिक्री, १ थान औंठी, विभिन्न कम्पनीको ६ थान सिम, १० थान नेपाल राष्ट्र बैंकको कार्ड होल्डर, बिभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपी, ठगी गर्ने प्रयोजनको लागि बनाएका विभिन्न कागजात र नगद ६७ हजार रुपैयाँ बरामद गरेको छ। त्यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।