सुदूर नेपाललाई विश्वसँग जोड्दै

लिटल फ्लावर प्रिमियर लिगः अत्तरियाको एभरेस्ट र लम्कीको गुरुकुल विजयी

२०७८ फाल्गुन ३, ०५:४७ खबर संवाददाता

धनगढी: कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ टि–ट्वान्टी क्रिकेट प्रतियोगिता ‘धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग’ अन्तरगत दोस्रो दिनका खेलमा एभरेस्ट एकेडेमी अत्तरिया र गुरुकुल इंगलिश स्कुल लम्कीले विजयी सुरुवात गरेका छन्। मंगलबार भएको पहिलो खेलमा एभरेस्ट एकेडेमी अत्तरियाले होलिल्याण्ड इंगलिश स्कुल अत्तरियालाई ९ विकेटले पराजित गर्‍यो।

धनगढीस्थित सङ्घीय प्रहरीको खेल मैदानमा सम्पन्न खेलमा होलिल्याण्डले दिएको ६३ रनको लक्ष्य एभरेस्टले ७.५ ओभरमा १ विकेट क्षतिमा भेटायो। एभरेस्टको ब्याटिङमा २८ बलको सामना गरेका योगेश भाटले ३ चौका र ४ छक्काको मद्दतले सर्वाधिक ४२ रन जोडे। उसका सन्दीप बिस्टले १२ रन बनाए। यसअघि टस जितेर ब्याटिङ गरेको होलिल्याण्डले १०.६ ओभरमा सबै विकेट गुमाएर ६२ रन मात्रे बनाउन सक्यो। होलिल्याण्डका सन्दीप औजीले १६ तथा अभिषेक पालले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहेन।

एभरेस्ट एकेडेमीका लेग स्पिनर कृश ऐरले सर्वाधिक ५ विकेट लिए। १ मेडन ओभर सहित ३ ओभर बलिङ गरेका उनले ११ रन मात्र खर्चिए। यस्तै गोविन्द बिस्टले दुई तथा दीपक रोकायाले एक विकेट लिए। खेलको प्लेयर अफ द म्याच एभरेस्ट एकेडेमीका कृश ऐर घोषित भए। उनले दुई हजार रुपैयाँ प्राप्त गरे।

आजै सम्पन्न दोस्रो खेलमा गुरुकुल इंगलिश स्कुल लम्कीले स्टेपिंग स्टोन स्कुल धनगढीलाई पराजित गर्‍यो। गुरुकुलले दिएको १८६ रनको लक्ष्य पछ्याएको स्टेपिंग स्टोनले १५.५ ओभरमा अल आउट हुँदै ५६ रन मात्रे बनाउन सक्यो। स्टेपिंग स्टोनको लागि अभिषेक कुँवरले सर्वाधिक ११ रन बनाए। गुरुकुलका बलर समीर रानाले तीन विकेट लिए भने बसिर अहमद र विशाल केसीले समान दुई विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको गुरुकुल स्कुलले निर्धारित २० ओभरमा ६ विकेट क्षतिमा १८५ रन बनाएको थियो। 

गुरुकुलको ब्याटिङमा नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीका खेलाडी समेत रहेका बशिर अहमदले सर्वाधिक ४१ रन बनाए जुन। उनले २९ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै टिमका लागि सर्वाधिक रन जोडे। यस्तै य–१९ राष्ट्रिय टिमका कप्तान समेत रहेका देव खनालले ३९ र विशाल विक्रम केसीले ३७ रन बनाए। दिनेश अधिकारीले १६ र कृश कार्कीले १५ रन योगदान दिए। स्टेपिंग स्टोनका बलर सागर भण्डारीले दुई विकेट तथा अभिषेक कुँवर, वीरेन्द्र चन्द र दिनेश ओडले समान एक विकेट लिए। खेलको प्लेयर अफ द म्याच बशिर अहमद घोषित भए जसले दुई हजार रुपैयाँ प्राप्त गरे।

प्रतियोगिता अन्तर्गत बुधवार पनि दुई खेल सञ्चालन हुनेछन्। पहिलो खेलमा बिहान ९ः३० बजे सैनिक आवासीय महाविद्यालय तेघरी र एभरेस्ट एकेडेमी तथा दोस्रो खेलमा दिउँसो १ः३० बजे सत्यवती एकेडेमी र विद्या भूषण पब्लिक स्कुल धनगढी बिच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा १० विद्यालय टिम सहभागी छन्। प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
 

कमेन्ट लोड गर्नुस