सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओमानविरुद्ध नेपालको जित

कान्तिपुर
कान्तिपुर
२०७८ माघ २८, ०७:१२ खबर संवाददाता

काठमाडौँः  चारदेशीय ट्वान्टी–२० शृंखलामा ओमानमाथि नेपालले जित हात पारेको छ। दीपेन्द्रसिंह ऐरीले अविजित अर्धसतक बनाएपछि नेपालले चारदेशीय ट्वान्टी–२० शृंखलामा ओमानलाई विकेटले पराजित गरेको हो। नेपालले १ सय ३६ रनको लक्ष्य ३ बल अगाडि १ सय ३७ रन बनाउँदै पूरा गरेको थियो। 

दीपेन्द्रले ५३ बल खेली ८ चौका र १ छक्कासहित ७५ रन बनाए। उनीसँगैं अविजित रहेका शरद भेषावकरले ४ रन बनाए। २०१९ यता शरदको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यो पहिलो खेल हो।ओपनर प्रदीप ऐरी १४ बलमा ४ रनमात्र बनाई आउट भए । अर्का ओपनर आसिफ शेखले ११ बलमा १४ रन बनाए। ज्ञानेन्द्र मल्ल १६ बलमा १३ रन बनाई रनआउट भए । दीपेन्द्रसँग चौथो विकेटमा ४५ रन जोडेका आरिफ शेखले २० बलमा ३ चौका प्रहार गर्दै २५ रन बनाए।

ओमानको राजधानी मस्कटमा शुक्रबार सुरु प्रतियोगितामा यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको ओमानले १३५–६ को स्कोर बनाएको थियो। अल एमेरेट रंगशालामा ओमानबाट कप्तान जेशन मक्सुदले अविजित रहि सर्वाधिक ४३ रन बनाए। उनले ४१ बलको सामना गरी ४ चौका र १ छक्का प्रहार गरे। मोहम्मद नदिमले ३० बल खेली २ चौका प्रहार गरी ३१ रन बनाए।

नेपालबाट अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभरमा २६ रन खर्चे। कप्तान सन्दीप लामिछाने, कमलसिंह ऐरी र आरिफ शेखले १–१ विकेट लिए। सन्दीपको नेपालको कप्तानको रुपमा यो पहिलो खेल हो। नेपालबाट विवेक यादव र सागर ढकालल ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गर्न लागेका हुन्। सागरका लागि विर्सनलायक डेब्यु रह्यो। उनले ३ ओभरमा ३६ रन खर्चे। एक ओभर बलिङ गरेका विवेकले ५ रन खर्चे।

ट्वान्टी–२० विश्वकप छनोटको तयारीमा रहेको नेपालले ओमानसँग कुशल भुर्तेल, करण केसी लगायतका खेलाडीलाई खेलाएको थिएन। नेपालले शनिबार युएईसँग खेल्ने छ।

कमेन्ट लोड गर्नुस