सुदूर नेपाललाई विश्वसँग जोड्दै

शहीद स्मारक ‘ए’ डिभिजन लिग: पुलिसको जीत

२०७८ माघ २६, ०६:४० रासस

काठमाडौँ: विभागीय टोली नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जीत हात पारेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा आज भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो। पुलिसको जितमा रविशङ्कर पासवान नायक बने। दुवै गोल उनैले गरे। च्यासलका लागि भने  मौसा अबागानाले एक गोल फर्काए।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको ३७औँ मिनेटमा पासवानले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाए। उनले नीरकुमार राईले उपलब्ध गराएको बलमा गोल गरेका हुन्। खेलको ५२औँ मिनेटमा च्यासलका मौसाले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। पुलिसका कप्तान सुमन सुवेदीले खेलको ५१औँ मिनेटमा रुमेश बर्तौलालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि च्यासलले पेनाल्टी पाएको थियो।  

त्यसपछि खेलको ७०औँ मिनेटमा पासवानले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २–१ को जित दिलाए । सुमन लामाले उपलब्ध गराएको बलमा पासवानले पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट गोल गरे। यस जितसँगै पुलिसले नौ खेलमा १० अङ्क जोडेको छ । पुलिस अङ्क तालिको दशौँ स्थानमा उक्लिएको छ। समान नौ खेल नै खेलको च्यासल पाँच अङ्क जोडेर अङ्क तालिकाको १३औँ स्थानमा रहेको छ। यस हारसँगै च्यासललाई रेलिगेसनको दबाब भने बढेको छ।
 

कमेन्ट लोड गर्नुस