सम्झौता अवधि सकिन तीन साता बाँकी, महाकालीमा चार लेनको पुल निर्माण ठप्प
धनगढी : कञ्चनपुरमा महाकाली नदीको चार लेनको पुल निर्माणको काम ठप्प भएको छ। स्थानीयको विरोध र निर्माण कम्पनीको लापरबाहीले पुल, सडक र तटबन्ध निर्माणको काम ठप्प भएको हो। ८ सय मीटर लामो चार लेनको पुल निर्माणसँगै ७ दशमलव ८ किलोमिटर लम्बाईको ६ लेन सडक निर्माण गर्ने ठेक्का सम्झौता कञ्चनपुरको कुमार सीएफईसी जेभीसँग गरिएको छ।
०७४ भदौ ७ गते निर्माण सम्झौता भएर २०७८ फागुन १५ गते निर्माण सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ। पुल, पहुँच मार्गसँगै महाकाली नदीमा तटबन्ध गर्नभन्दै दोस्रो पटक भेरिएसन अर्डर अनुसार ३ अर्ब ६६ करोडको लागतमा काम फागुन १५ भित्रै सक्नुपर्ने भए पनि पुस मसान्तसम्म ७५ प्रतिशत मात्रै वित्तीय प्रगित भएको योजना कार्यालयले जनाएको छ। गत कार्तिकमा आएको बाढीले निर्माण गरिएको सडक भत्काएर महाकाली नदीको बाढी बस्तीमा पसेको भन्दै बर्सात लाग्नु अगावै भत्किएको सडक बनाउनुपर्ने तथा महाकाली नदी र भुजेला खोलामा तटबन्ध गर्नुपर्ने माग स्थानीयले गरेका छन्।
नदी तटबन्ध गर्ने काम समयमै सक्नु पर्ने माग राखेर स्थानीय आन्दोलित भएको भीमदत्त नगरपालिका वडा नम्बर १२ का अध्यक्ष कृष्ण देउवाले बताए। 'कार्तिकमा आएको बाढीले सडक भत्काएको थियो। हामीले सडक मर्मतसँगै तटबन्ध यथाशीघ्र निर्माण हुनुपर्ने माग गरिरहेका छौँ,' उनले भने, 'निर्माण कम्पनी र योजना कार्यालयले गरेको ढिलासुस्तीले गर्दा बर्सातमा दुई वडा डुबानमा पर्ने चिन्ता स्थानीयले गरेका छन्।' महाकाली नदीको ऐरीघाटदेखि नयाँ पुलसम्मको भीमदत्त नागरपालिकाको क्षेत्रमा २ हजार ६२६ मिटर र दोधारा-चाँदनीतर्फ २ हजार ६११ मिटर तटबन्ध गर्नुपर्ने योजना कार्यालयले जनाएको छ।
स्थानीयले तटबन्धको काम अगाडि बढाउनुपर्ने भन्दै निर्माण कम्पनी र योजना कार्यालयमा तालाबन्दी गरेका छन्। स्थानीयले भत्केको सडक बनाउनुपर्ने र तटबन्ध यथाशीघ्र गर्नुपर्ने भनेर काममा अवरोध गरेको महाकली पुल योजना कार्यालयका सूचना अधिकारी दुर्गादत्त अवस्थीले बताए। 'स्थानीयले काम हुनु पर्यो भनेर विरोध गरेका छन् तर विरोधले काम मात्रै प्रभावित हुने देखिएको छ,' उनले भने, 'योजना कार्यालयले निर्माण कम्पनीलाई डिजाइन स्टिमेट बिना नै गर्न सकिने काम गर्न पत्राचार गरिसकेको छ।'
महाकाली पुल निर्माणको ठेक्का पाएको कुमार सीएफईसी जेभीले गत कार्तिकमा बगाएको सडक र तटबन्धका लागि डिजाइन स्टिमेट स्वीकृत भएर नआएको कारण अहिले काम रोकिएको बताएको छ। स्थानीयले भुजेला खोला, महाकाली नदी र बगेको भाइरल सडक बनाउनुपर्ने माग राखेको भए पनि नयाँ डिजाइन स्टिमेट योजना कार्यालयले नदिँदासम्म काम ठप्प रहने निर्माण कम्पनीका सम्पर्क व्यक्ति किशोर पाण्डेले दिनेशखबरलाई बताए। 'अहिले काम ठप्प भएको छ,' उनले भने, 'डिजाइन स्टिमेट आएपछि समय पनि थपिन्छ होला अनि काम पनि थाल्ने छौँ।'
स्थानीयको तटबन्ध र सडक छिटो बन्नुपर्ने माग जायज भए पनि निर्माणको काम नै अवरूद्ध पार्नेगरी अवरोध हुँदा समयमै काम सम्पन्न नहुने चिन्ता गरिएको छ। निर्माण कम्पनीले पनि डिजाइनको बाहना बनाएर समय थप्न लगाउने उद्देश्य राखेको अनुमान गरेको छ। बर्सात अगावै तटबन्ध नगरिए वडा नम्बर १२ र १३ का चार बस्ती ऐरी, बडैपुर, पिपरीया र ओदालीमा कटान र डुबानको जोखीम हुने चिन्ता गरिएको छ।