सुदूर नेपाललाई विश्वसँग जोड्दै

उच्च अदालत दिपायलले सुनायो शिशुको हत्या गर्न लगाउनेलाई जन्मकैदको फैसला

२०७८ माघ २०, ०८:४७ खबर संवाददाता

डोटी :  उच्च अदालत दिपायल राजपुरले शिशु हत्या गर्न लगाएको अभियोग लागेका एक जनालाई जन्मकैदको फैसला सुनाएको छ। बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको फैसला सुनाइएको हो। 

हाडनाता करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाब दिएको अभियोगमा राजकुमारमाथि जिल्ला अदालत बाजुरामा उजुरी परेको तर जिल्ला अदालत बाजुराले अभियुक्तलाई निर्दोष भन्दै सफाइ दिएको थियो। तर, उच्च अदालत दिपायल राजपुरले भने राजकुमार दोषी भएको ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो।

राजकुमारको बलात्कारपछि गर्भवती भएकी एक युवतीले २०६९ साल जेठ २७ गते शिशु जन्माएकी थिइन्। उनीबाट जन्मिएको बच्चा मारिदिनु भन्दै पटकपटक दबाब दिएपछि युवतीले जन्मेको ३४ दिनमा विषादी खुवाइ आफ्नै सन्तानको हत्या गरेको प्रमाणका आधारमा राजकुमारलाई जन्मकैदको सजाय सुनाइएको उच्च अदालत दिपायल राजपुरले जनाएको छ। 

हिजो उच्च अदालतका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश जगतबहादुर थापाको संयुक्त इजलासले राजकुमारलाई मुख्य दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो। यसैगरी शिशुको हत्या गर्ने युवतीलाई चार वर्ष कैद हुनेगरी जिल्ला अदालत बाजुराले सुनाएको सजाय उच्च अदालत दिपायल राजपुरले सदर गरेको छ।

यस घटनामा संलग्न भएको र विषादी जडीबुटी ल्याएर बालकलाई खुवाउन सहयोग गरेको आरोपमा अर्की एक महिलालाई छ महिना कैद सजाय सुनाइएको छ। 

कमेन्ट लोड गर्नुस