सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा विद्यालयको जग्गामा चर्च निर्माण, पूर्वमन्त्री चौधरीले दिएका थिए १० लाख

२०७८ माघ २०, ०७:१३ कमल सावद

धनगढीः कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १२ मा रहेको राष्ट्रिय माविले साढे २ बिघा जग्गा त्रिवेणी बजार व्यवस्थापन समितिलाई भाडामा दिएको छ। विद्यालयले एक सय २९ कित्ता जग्गा प्रति कित्ता ७० रुपैयाँका दरले भाडामा दिएको हो।

साढे २ बिघा जग्गाको मासिक ९ हजार ३० रुपैयाँ भाडा असुल हुँदै आएको विद्यालयको जग्गामा चर्च निर्माण गरिएपछि विरोध हुन थालेको छ। त्रिवेणी बजार व्यवस्थापन समितिले चार कित्ता अर्थात एक कट्ठा जमिन साहरा चर्च निर्माणका लागि दिएको भन्दै विरोध भएको हो। राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक सन्तोषकुमार चौधरीले विद्यालयको जग्गामा चर्च निर्माण भएकोबारे जानकार रहेको बताए। चौधरीले भने, ‘चर्च निर्माणका लागि हामीले जग्गा दिएका होइनौं। बजार व्यवस्थापन समितिलाई व्यापारिक प्रयोजनका लागि जग्गा भाडामा दिएको हौं।´

चर्च निर्माण भएपछि केही स्थानीयले बिरोधसमेत गरेको उनले बताए। पूर्वमन्त्री गौरीशंकर चौधरीको स्थानीय पूर्वाधार विकास कार्यक्रमको १० लाखमा साहरा चर्च निर्माण भएको पाइएको हो। गत आर्थिक वर्ष २०७७/०७८ मा पूर्वमन्त्री चौधरीले उक्त चर्चका लागि १० लाख बजेट विनियोजन गरेका थिए।

जिल्ला समन्वय समिति कैलालीमार्फत चर्चको भवन निर्माण भएको हो। विद्यालयले २०६६ सालमा बजार सञ्चालनका लागि साढे २ बिघा जग्गा भाडामा दिइएकोमा उक्त जग्गामा चर्चसँगै अन्य स्थायी संरचनाहरु समेत निर्माण भएका छन्। त्रिवेणी बजार व्यवस्थापन समितिका अध्यक्ष फूलराम चौधरीले सर्वदलिय र सर्वपक्षिय बैठकले चर्च निर्माणको निर्णय गरेको बताए। उनले भने, ‘चार कित्ता जग्गा समितिले दिएको हो। सरकारी बजेट भएकाले चर्च नबनाउन भन्न सकेनौ।’

बजार व्यवस्थापन समितिले आफू खुशी चर्च तथा अन्य भौतिक संरचना निर्माण गर्दै आएको हो। साढे २ बिघा जमिनमा ७० बढी घर तथा पसलहरु निर्माण गरिएका छन्। मासिक ७० रुपैयाँमा मात्र एक कित्ताको भाडा पर्ने भएकाले पनि बजार व्यवस्थापन समितिले मनपरी गर्दै आएको हो।

पूर्वमन्त्री गौरीशंकर चोधरीले साहरा चर्चको भवन निर्माणका लागि १० लाख विनियोजन गरेको बताए। ‘कुन ठाउँमा र जग्गा कस्को मैले सोधेन। विद्यालयको भए, चर्चले पनि भाडा तिर्नुपर्ने भयो,’ पूर्वमन्त्री चौधरीले भने। हरेक महिना २ सय ८० रुपैयाँ भाडा तिर्ने गरी एक कट्ठा क्षेत्रफलमा साहरा चर्च सञ्चालन गरिएको हो।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस