सुदूर नेपाललाई विश्वसँग जोड्दै

मैत्रीपूर्ण फुटबलमा मरिससमाथि नेपालको जित

२०७८ माघ १८, ०९:२६ रासस

काठमाडौँ: नेपाली राष्ट्रिय फुटबल टोलीले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा १० खेलाडीमा सीमित नेपालले नौ खेलाडीमा समेटिएको मरिससलाई १–० गोल अन्तरले पराजित गरेको हो। नेपालका लागि सुजल श्रेष्ठले निर्णायक गोल गरे । उनले खेलको दशौँ मिनेटमा गोल गरेका थिए। आशिष लामाले प्रहार गरेको बललाई पेनाल्टी क्षेत्रभित्र रहेका पुजन उपरकोटीले उपलब्ध गराएपछि श्रेष्ठले गोलमा परिणत गरेका थिए।

पहिलोपटक अफ्रिकी राष्ट्रविरुद्ध आधिकारिक रुपमा खेल खेलेको नेपाल दुवै मैत्रीपूर्ण खेलमा जित हात पार्न सफल भयो। यसअघि शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई १–० गोल अन्तरले नै पराजित गरेको थियो। उक्त खेलमा नेपालका लागि विमल घर्तिमगरले गोल गरेका थिए।

मरिसस पेनाल्टीमा चुक्दा नेपालसँग लगातार हार व्यहोर्यो । खेलको १३ औँ मिनेटमा मरिससका कप्तान एन्डी सोफीले पेनाल्टीमा गोल गर्न सकेनन्। उनको प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले बचाए। नेपालका दिनेश राजवंशीले मरिससका लिन्स्ले बर्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि मरिससले पेनाल्टी पाएको थियो। त्यसबाहेक दुवै टोलीले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न सकेनन्।

यसैगरी खेलको ७० औँ मिनेटमा मरिसस र नेपाल १० खेलाडीमा समेटियो। एक अर्काविरुद्ध घम्साघम्सीमा उत्रिएपछि मरिससका एड्रियन बोटलरले रातो कार्ड पाएका थिए। यता नेपालका पुजन उपरकोटीलाई रेफ्री नवीन्द्र महर्जनले रातो कार्ड पाएका थिए। खेलको ७८ औँ मिनेटमा मरिसस नौ खेलाडीमा समेटियो। नेपालका गौतम श्रेष्ठलाई फउल गरेपछि मरिससका इम्यानुएलले रातो कार्ड पाएका थिए। 

कमेन्ट लोड गर्नुस