सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको गलागाडमा मोटर चल्ने पक्की पुल निर्माण हुने

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
२०७८ माघ १७, ०८:२६ रासस

जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाको गलागाडमा मोटर चल्ने पक्की पुल निर्माण हुने भएको छ। गाउँपालिकाको वडा नं १ र २ अन्तर्गतका सिमचौर–केदारअखडा जोड्नका लागि रु चार करोड ५० लाखको लागतका उक्त पुल निर्माण हुने भएको हो। 

पुल नहुँदा यहाँका नागरिकले सास्ती भोग्दै आएका थिए भने उत्पादित बस्तु भाउले बजार पाउन सकेको थिएन। पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरदेखि बोगटान जोड्ने सडकखण्डअन्तर्गत पर्ने गलागाड खोलामा निर्माण हुन लागेको पक्की पुलले यहाँका नागरिकलाई निकै राहत हुने गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए।

उनले भने, “पुल नहुँदा यहाँँका नागरिकदेखि यातायातका साधन सञ्चालनमा समस्या थियो, अब पुलको शिलान्यास भएको छ, सबैलाइ राहत हुने छ।” उक्त खोलामा मोटर चल्ने पुल निर्माण भएपछि जिल्लाकै दुर्गम मानिने कानाचौर क्षेत्र अब सडक सञ्जालबाट पालिका र जिल्ला सदरमुकामसम्म जोडिने भन्दै स्थानीयमा खुसीयाली छाएको स्थानीयवासी अमरबहादुर बोगटीले बताए।

उनका अनुसार उक्त पुल निर्माण सम्पन्न भएपश्चात् छिमेकी जिल्ला सुर्खेत तथा अछामका नागरिक पनि प्रत्यक्ष लाभान्वित हुने भएका छन्। उक्त क्षेत्रमा उत्पादित बस्तु भाउले बजार पाउने भन्दै किसान पनि खुशी भएका अर्का स्थानीयवासी खडकबहादुर बोहराले बताए। 

मोटर पुलसम्म बाटो निर्माणका लागि गाउँपालिकाबाट ५० लाख र प्रदेश सरकार बाट ३५ लाख खर्च भइसकेको पालिकाले जनाएको छ। सडक डिभिजन कार्यालय कुल्पाते दिपायलअन्तर्गत उक्त पुलका लागि ठेक्का भइसकेको बताइएको छ। पुलको लम्बाइ २५ मिटर रहेको र निर्माणको जिम्मा नेपाल मेघा सिस्ने कन्स्ट्रक्सनलाई दिइएको छ।
 

कमेन्ट लोड गर्नुस