धनगढी प्राविधिक माविको बजेटमा शिक्षक र पदाधिकारीको रजगज
धनगढीः धनगढी नमुना प्राविधिक माध्यामिक विद्यालयमा २०७४ सालदेखि सिभिल ओभरसियरको अध्यापन हुँदै आएको छ। नेपाल सरकारको शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रमार्फत वार्षिक झण्डै तीन करोड रुपैयाँ विद्यालय सञ्चालनका लागि आउने गरेको छ। कक्षा ९ देखि १२ सम्मका विद्यार्थीको अध्यापनका लागि सो रकम खर्च हुनुपर्ने हो।
तर धनगढी नमुना माध्यामिक विद्यालयमा कार्यरत कर्मचारी र पदाधिकारीले भने आफुअनुकुल खर्च गर्दै आएको खुलेको छ। विद्यालयका प्राचार्य लक्ष्मणदत्त भट्टले केही शिक्षक तथा कर्मचारीले पेश्कीबापत लिएको रकम फिर्ता नआएको बताए। उनले भने, ‘केही पेश्की लिएको रकम फिर्ता भएको छ। केही अझै बाँकी छ।’
आर्थिक वर्ष २०७४÷०७५ मा विद्यालयमा कार्यरत सरोज चौधरीलाई १९ लाख ५० हजार, उच्च मावि सापटीमा ५ लाख १७ हजार तीन सय ४९, लालमणि रानालाई दुई लाख, नरेन्द्र वडलाई एक लाख २६ हजार, गणेश नेपालीलाई एक लाख १० हजार, दिलबहादुर ओलीलाई ३० हजार, रामचन्द्र चौधरीलाई ६ हजार ५ सय, महेन्द्र चौधरीलाई तीन हजार, विश्वरम्भर झालाई दुई हजार, चुडामणि जोशीलाई दुई हजार र महायज्ञ सापटीमा एक लाख ८० हजार पेश्कीबापत रकम दिइएको छ।
तुल्सिधर भण्डारी र गणेश नेपालीबाट मात्रै आर्थिक वर्ष २०७५÷०७६ मा पेश्कीबापतको रकम असुल भएको छ। आर्थिक वर्ष २०७६÷०७७ मा नरेन्द्र ओडको पेश्की रकम पनि कट्टी गरिएको छ। बाँकी शिक्षक एवंम कर्मचारीले भने अझै पेश्की रकम फिर्ता गरेका छैनन्।
आर्थिक वर्ष २०७६/०७७ मा विद्यालयमा कार्यरत शिक्षक गणेश नेपालीले पुनः ९४ हजार पेश्की लिएका छन्। आर्थिक वर्ष २०७७÷७८ मा विद्यालयको अनुमानीत बजेट ३ करोड १६ लाख ३८ हजार थियो। तर विद्यालयका कर्मचारी एवंम शिक्षकले २०७६÷०७७ को २९ लाख ८४ हजार ८ सय ४९ र आर्थिक वर्ष २०७४÷७५ मा ३० लाख ३१ हजार एक सय १३ रुपैयाँ पेश्की रकम फिर्ता नदिएका हुन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष नारायण बरालले पेश्की रकम असुल नहुने समस्याबारे केही समय अगाडि मात्रै जानकारी पाएको बताए। ‘केही समय पहिले पेश्की लिएको रकम फिर्ता नभएको गुनासो आएको थियो,’ उनले भने, ‘अहिलेको अवस्थाबारे जानकारी छैन।’