नयाँ शहर निर्माणका लागि डिजाईन सर्वेको कामले गति लिन सकेन्
एकिकृत विकास योजना छनोट हुनै वाँकी
कैलाली र कञ्चनपुरको हुलाकी राजमार्ग आसपासमा व्यवस्थित वसोवास गराउनका लागि दुई वटा नयाँ शहर निर्माण गर्नका लागि थालिएको डिजाईन सर्वेको काम समयमा नथपिएपछि थप गरिएको समयमा पनि कामले गति लिन सकेको छैन् । कैलालीको भजनी र कञ्चनपुरको वेलौरीमा डिजाईन सर्वेका लागि गत कार्तिकमै समय सकिएपछि थपिएको समयमा पनि कामले गति लिन नसकेको हो । भजनीका लागि वडा स्तरवाट आएका एकिकृत योजनाहरु र डिपिआरका लागि तीन वटा आयोजना छनोट भईसक्दा पनि वेलौरीमा भने योजनाहरु नै छनोट हुन सकेका छैनन् ।
गत वैशाख ४ गते भएको सम्झौता अनुसार कार्तिक ४ गते डिजाईन सर्वेको म्याद सकिए पनि काम सम्पन्न नभएपछि थपिएको समयमा पनि नयाँ शहर निर्माणका लागि डिजाईन सर्वेको कामले गति लिन नसकेको हो । दुवै नगरपालिका जन प्रतिनिधिले काममा सहयोग नगरेपछि ढिलाई भएको आरोप लगाउँदै आएको परामर्शदाता कम्पनीले त्यसपछिको समयमा पनि कामलाई तिव्र रुपमा अगाडी वढाउन सकेको छैन । डिजाईन सर्वेको काम गरिरहेको एभरेष्ट ईन्जिनियरिङ कन्सल्टेन्ट, मुनलाईट सिभिल सोलुसन र ईलाईट सिभिल डिजाईन कन्सलेन्टले तीन महिना थपको समय पाएपनि सो अवधिमा काम सम्पन्न हुनेमा आशंका कायमै रहेको छ । अहिले स्थलगत प्रतिवेदन वुझाईएको र फिल्डमा काम पनि जारी रहेको परामर्शदाता कम्पनीका सञ्चालक कृष्ण यादवले बताए ।
ढिलोगरी काम सुरु गरिएकोमा अहिले आएर भजनी नगरपालिकाका वडाहरुवाट आएका योजनाहरु सहितको एकिकृत विकास योजना तथा तीन वटा डिपिआरका लागि नदी नियन्त्रण, रिङ रोड र स्टेडियमका योजना स्वीकृत भईसकेका छन् । तर वेलौरीमा वडास्तरका योजना र डिपिआर वनाउने योजना नै छनोट भएका छैनन् । अहिले वडा वडा पुगेर योजना छनोटको काम भईरहेको छ । स्थलगत योजना नयाँ शहर आयोजनालाई वुझाईएको भएपनि यसपछि डिजाईन सर्वेको प्रतिवेदनको अन्तिम मस्यौदा प्रतिवेदन आएपछि त्यसमा छलफल गरेर मात्रै अन्तिम रुप दिईने भएकोले अझै धेरै काम गर्न वाँकी रहेको छ ।
सुदुरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरका पुराना सदरमुकामलाई नयाँ शहरका रुपमा विकास गर्नका लागि प्रारम्भीक चरणकै काममा ढिलाई भईरहेको छ । ढिलो गरी स्थलगत अध्ययनको काम थालिएकोमा त्यसमा जन प्रतिनिधिहरुकै असहयोगले समयमै काम नसकिएको अवस्थामा तीन महिनाको म्यषद थप गरेर काम भईरहेको छ । फागुनको दोस्रो सातातिर थपिएको म्याद सकिने हुँदा पनि काम भने त्यो अवधिमा नसकिने देखिएको छ । यदपी काम सम्पन्न गराउने परामर्शदाता कम्पनीका सञ्चालक कृष्ण यादवको दावी छ ।
डिजाईन सर्वेको काम सम्पन्न गर्ने समयमा नसकिएपछि परामर्शदाता कम्पनीले ६ महिनाको समयम मागेकोमा नयाँ शहर आयोजनाले तीन महिना थपेर फागुन १० गतेसम्मको समय दिएको छ । एकिकृत विकास योजना सँगै दुवै नगरपालिकामा तीन तीन वटा ठुला आयोजनाको डिपिआर समेत बनाउनुपर्ने नयाँ शहर आयोजनाले जनाएको छ । त्यसका लागि काम भईरहेको र आफुहरु पनि अव भने चाँडो गर्नका लागि भनिरहेको नयाँ शहर आयोजनाका प्रमुख पराग कायस्थले जानकारी दिए ।