सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोकिएको आईपीओ निष्काशन शुरु, कुन कम्पनीको कहिले आउँदैछ ?

२०७८ माघ १६, ०१:०२ खबर संवाददाता

काठमाडौंः नेपाल धितोपत्र बोर्डको अध्यक्ष रिक्त हुँदा लामो समयदेखि रोकिएको साधारण शेयर (आईपीओ) निष्काशन प्रक्रिया शुरु भएको छ। बोर्डको सञ्चालक समितिले निर्णय गरेर सर्वसाधारणका लागि आईपीओ जारी गर्न अनुमति दिन थालेको हो।

सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएर पछि सरकारले तत्कालिन बोर्ड अध्यक्ष भिष्मराज ढुंगानालाई पदबाट हटाएको थियो। अध्यक्ष पद रिक्त भएसँगै बोर्डले आईपीओ निष्काशनका लागि कम्पनीहरुलाई स्वीकृत दिएको थिएन। लामो समय पछि आईपीओ स्वीकृति भएसँगै जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आगामी शुक्रबारदेखि आईपीओ निष्काशन गर्ने भएको छ। संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो। लघुवित्तले निष्काशन गर्न लागेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ।

सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। आईपीओमा २५ माघसम्म आवदन दिन पाइनेछ। आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। बोर्ड नेतृत्व विहिन बन्दा ६ अर्ब ८० करोड ७६ लाख ४ सय रुपैयाँ बराबरका ६ करोड १३ लाख ५६ हजार ४ कित्ता आईपीओ निष्कासनका लागि २ दर्जन बढी कम्पनीहरु अनुमतिको पर्खाइमा रहेका थिए। यी दर्जन कम्पनीहरुले अब क्रमशः आईपीओ निष्काशनका लागि अनुमति पाउने बोर्डले बताएको छ।

कमेन्ट लोड गर्नुस