सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरमा होल्डिङ सेन्टर सञ्चालनमा अन्योल

२०७८ माघ १५, ०७:२७ कमल सावद

धनगढीः कैलालीको धनगढीमा नेपाली सेनामार्फत होल्डिङ सेन्टर निर्माणको काम जारी छ। सेनाले हनुमान कन्स्ट्रक्सनसँग गत असार ३ गते एकहजार शय्याको होल्डिङ सेन्टर निर्माणका लागि सम्झौता गरेको थियो। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा निर्माणको चरणमा रहेको होल्डिङ सेन्टरको भौतिक प्रगति ७५ प्रतिशत पुगेको छ।

अहिलेदेखि नै तीन सय शय्या सञ्चालन गर्न सकिने निर्माण कम्पनीले बताएको छ। तर उक्त होल्डिङ सेन्टरसम्म जान सडक निर्माण भएको छैन। होल्डिङ सेन्टरका लागि विद्युत विस्तार जडान र खानेपानीको काम पनि बाँकी रहेको हनुमान कन्स्ट्रक्सनका इन्जिनियर विक्रम गैरले बताए। ‘होल्डिङ सेन्टर सम्मको सडक निर्माण भएको छैन, विजुली र खानेपानीको काम पनि बाँकी छ,’ उनले भने।

धनगढी उपमहानगपालिका वडा नम्बर ३ बडहरा र भीमदत्त नगरपालिका वडा नम्बर १८ सालघारीमा संघीय सरकारले होल्डिङ सेन्टर निर्माण गरिरहेको हो। संघीय मन्त्रीपरिषदले प्रदेश सरकारलाई सञ्चालनका लागि हस्तान्तरण गर्ने निर्णय समेत गरेको छ।

होल्डिङ सेन्टरका लागि आवश्यक विद्युत जडान, खानेपानी र सडक निर्माणको जिम्मेवारी प्रदेश सरकारको रहेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए। उनले भने, ‘हामीले निर्माण गरेर प्रदेश सरकारलाई दिने हो। प्रदेश सरकारको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय पनि सदस्य रहन्छन्।  सडक विस्तार, विजुली र खानेपानी जडानको दायित्व प्रदेश सरकारको हो।’

भारतबाट कोरोना संक्रमण गाउँ/गाउँमा सहज रुपमा फैलिन नदिन सरकारले होल्डिङ सेन्टर निर्माण गरिरहेको हो। तर सञ्चालनका लागि कार्यविधि नभएको सुदूरपश्चिमका सामाजिक विकासमन्त्री लालबहदुर खड्काले बताए। धनगढीको होल्डिङ सेन्टरको भौतिक प्रगति ७५ प्रतिशत पूरा भएको छ भने भीमदत्तको ८५ प्रतिशत भौतिक प्रगति पूरा भएको छ।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस