सुदूर नेपाललाई विश्वसँग जोड्दै

अस्पताल निर्माणको बोलपत्रमा रामारोशन र मेल्लेखको बदमासी, सेटिङमा ठेक्का पार्न अनावश्यक शर्त

२०७८ माघ १४, ०७:४८ कमल सावद

धनगढीः अछामको मेल्लेख गाउँपालिकाले गत पुस २२ गते १५ शय्याको अस्पताल भवन निर्माणका लागि विद्युतीय बोलपत्र आह्वान गर्‍यो। गाउँपालिकाले शुक्रबार प्री-बिडिङ बैठक बोलाएको छ। बोलपत्र खरिद गर्ने निर्माण व्यवसायी र बोलपत्रको सूचनामा चित्त नबुझेका निर्माण कम्पनीहरुले बैठकमा सहभागिता जनाउने छन्। 

तर विद्युतीय बोलपत्र सार्वजनिक गर्दा नै अनावश्यक शर्त राखिएको निर्माण कम्पनीहरुको दाबी छ। मेल्लेख गाउँपालिकाले पहाडी क्षेत्रमा १२ करोड ६५ लाख बढीका दुई अस्पताल निर्माण गरेको अनुभव हुनुपर्ने शर्त राखेको छ। उक्त शर्त कुनै एक निर्माण कम्पनीसँगको मिलोमतोमा राखिएको अन्य निर्माण कम्पनीहरुको आरोप छ। एकजना निर्माण व्यवसायीले भने, `गाउँपालिकाले सेटिङमा विद्युतीय बोलपत्रको सूचना सार्वजनिक गरेको छ। अनावश्यक शर्त राखेर आफ्नालाई ठेक्का पार्ने खेल भइरहेको छ।’

मेडिकल ग्याँससहितको अस्पतालको आरसीसी भवन निर्माण गरेको निर्माण कम्पनीले मात्र बोलपत्र पेश गर्न सक्ने शर्त गाउँपालिकाको छ। गाउँपालिकाले एन्टी व्यक्टरेरियन पेन्ट लगाएको निर्माण कम्पनीले मात्र बोलपत्र पेश गर्न सक्ने अर्को शर्त समावेश गरेको छ। उक्त शर्तले धेरै निर्माण कम्पनी बोलपत्र पेश गर्नबाट बञ्चित भएका हुन्। तर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीर्घबहादुर खड्काले दीर्घकालीन सोचका साथ बलियो र सुविधासहितको अस्पताल भवन निर्माणको तयारीमा रहेको बताए। उनले भने, ‘हामीलाई भवन मात्र राम्रो चाहिएको होइन। अस्पतालको भित्री आवरण पनि राम्रो चाहिएको हो। सोही भएर हामीले यस्ता शर्तहरु राखेका हौं। ठेकेदारले आरोप लगाउने कुरा मात्र हो।’

जिल्लाको रामारोशन गाउँपालिकाले पनि पुस ३० गते १५ शय्याको अस्पताल भवन निर्माणका लागि विद्युतीय बोलपत्र सार्वजनिक गरेको छ। रामारोशन गाउँपालिकाले माघ २० गते प्रि–बिडिङको बैठक बोलाएको छ। उक्त गाउँपालिकाले पनि मिलोमतोमा बोलपत्रमा अनावश्यक शर्त राखेको गुनासो निर्माण कम्पनीको छ। रामारोशन गाउँपालिकाले ग्याँस पाइपलाइन सहितको अस्पताल भवन निर्माण गरेको हुनुपर्ने शर्त मिलोमतोमा राखेको दाबी गरिएको हो। १३ करोड ७५ लाख लागतका भवन निर्माण गरेको अनुभव भएका निर्माण कम्पनीले मात्र बोलपत्र पेश गर्न पाउँने भएका हुन्।

रामारोशन गाउँपालिकाका इन्जिनियर शंकरराज खनालले अन्य गाउँपालिकाको शर्तहरु साभार गरिएको बताए। तर निर्माण कम्पनीसँग कुनै मिलोमतो नभएको उनको दाबी छ। उनले भने, ‘हामीले अस्पताल भवनका लागि आवश्यक शर्तहरु राखेका छौं। तर कुनै पनि ठेकेदासँग मिलोमतो भएको छैन।’ जिल्लाका दुई गाउँपालिकाले १५/१५ शय्याका अस्पताल भवन निर्माणका लागि बोलपत्र आह्वान गरेका हुन्। तर बोलपत्रको सूचनामा अनावश्यक शर्त राखेर अधिकांश निर्माण व्यवसायीलाई प्रतिस्पर्धाबाटै बञ्चित गराइएको छ।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस