२० हजार परीक्षण गर्दा आठ हजार सङ्क्रमित
काठमाडौँ: पछिल्लो २४ घण्टामा आठ हजार ४५४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले २० हजार ३५९ परीक्षण गर्दा आठ हजार ४५४ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए।
उहाँका सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार ६७ पुगेको छ । पछिल्लो समय चार हजार ४३३ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ३१ ७१२ पुगेको छ। सङ्क्रमणमुक्त हुने दर ८९।१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पाँचको निधन
उनले विगत २४ घण्टामा आज पाँच जनाको सङ्क्रमणका कारणले निधन भएको जानकारी दिए। अहिलेसम्म ११ हजार ६७२ जनाको सङ्क्रमणका कारणले निधन भएको छ। यस्तै ५०० भन्दाबढी सङ्क्रमण भएको जिल्ला १७ पुगेको छ। मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, नुवाकोट, कास्की, नवलपरासी पूर्व, बाके, रुपन्देही, दाङ र कैलाली रहेका छन्।
यस्तै २०० भन्दाबढी सङ्क्रमित भएका १७ जिल्ला रहेका छन्। ती जिल्लामा पर्सा, बारा, महोत्तरी, सत्तरी, सर्लाही, सिराहा, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, दोलखा, गोरखा, तनहुँ, स्याङ्जा, बागलुङ, पाल्पा, सुर्खेत र कञ्चनपुर रहेका छन्। नेपालमा सङ्क्रमण दर १८ प्रतिशत रहेको छ। हाल होम आइसोलेशनमा ८८ हजार २४८, संस्थागत आइसोलेसनमा एक हजार ८१९, आइसियुमा २५१ र भेन्टिलेटरमा ४८ जनाको उपचार हुँदैछ।
दुई लाख बढीले खोप लगाए
विगत २४ घण्टामा आज दुई लाख ५६ हजार ४१६ जनाले खोप लगाएका छन्। यस्तै कोरोना भाइरसविरुद्धको बुस्टर डोज दुई लाख ६४ हजार ८९१ मात्रा लगाइएको छ।