कञ्चनपुरको वेदकोटमा अख्तियारले रोक्का राखेको जग्गा फुकुवा
धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको वेदकोट नगरपालिकाको रोक्क गरेको जग्गा फुकुवा गरेको छ।
नगर प्रमुख अशोककुमार चन्दका अनुसार अख्तियारले विगत २ वर्षदेखि नगरपालिकाको वडा नम्बर ७, ९ र १० को जग्गा रोक्का गरेको थियो। अख्तियारले जग्गा फुकुवा गर्ने निर्णय गरेको र सो निर्णय केही दिनपछि जिल्ला मालपोत कार्यालय पुग्ने उनले बताए।
उक्त वडाहरुका करिब ३ सय परिवारले भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा अर्कैको नाममा जारी गरिएपछि त्यहाँका स्थानीयले मालपोत कार्यालयका कर्मचारीको मिलोमतो रहेको भन्दै अख्तियारमा उजुरी दिएका थिए। उजुरीपछि अख्तियारले जग्गा रोक्का गरेको थियो भने उक्त विवादको प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको समितिले छानविन गर्दै आएको छ।