२४ घण्टामा कोभिडबाट चारजनाको मृत्यु
काठमाडौँ: बितेका २४ घण्टामा १३ हजार ३७७ जनाको पिसिआर परीक्षण गर्दा पाँच हजार ५९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। त्यसैगरी, चार हजार ६० जनाको एन्टिजेन परीक्षण गर्दा ८६४ जना सङ्क्रमित भएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल १७ हजार ४३७ जनाको परीक्षण गर्दा छ हजार ४६२ जनामा कोरोना पुष्टि भएको छ। मन्त्रालयले आज गरेको नियमित ‘प्रेस ब्रिफिङ’ सहायक प्रवक्ता डा समीर अधिकारीले २४ घण्टामा एक हजार ४१६ जना सङ्क्रमणमुक्त भएका तथा चारजनाको आइतबार मृत्यु भएको बताए। हाल देशभर ७७ हजार ४० सक्रिय सङ्क्रमित छन्।
यसैबीच, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट सङ्क्रमित भएका बताउँदै यही माघ १० देखि १६ गतेसम्म खोप अभियान स्थगन भएको जनाएको छ।