धनगढीमा नाली निर्माणमा कमसल ईटा प्रयोग, जनप्रतिनिधि मुखदर्शक
सघन शहरी विकास कार्यक्रम अन्तरगत धनगढीमा दोश्रो चरणका सडकको निर्माणमा पनि मापदण्ड विपरित काम भईरहेको भेटिएको छ। सघन शहरी विकास कार्यक्रम अन्तरगत धनगढी उप–महानगरपालिका वडा नम्बर ११ मा निर्माण भईरहेको सडकको नालीमा दुई नम्बर ईटा प्रयोग भइरहेको पाइएको हो। शहरी विकास कार्यक्रम अन्तरगत लामा खडका कृष्ण जेभीले निर्माण गरिरहेको वडा नम्बर ११ को घुर्सुवा–बेला हुदै मट्यारी जोड्ने सडकमा दुई नम्बर ईटा प्रयोग भइरहेको पाइएको हो। स्थानीयले दुई नम्बर ईटाको प्रयोग नगर्न आग्रह गर्दै आएपनि त्यसलाई वेवास्ता गर्दै निर्माण व्यवसायीले बजेट जोगाउन दुई नम्बर ईटा प्रयोग गरिरहेका हुन्।
कमसल ईटाका कारण भविष्यमा नाली भत्कीने भन्दै एक नम्बर ईटाको प्रयोग गर्न गरिएको आग्रहको वेवास्ता गरिर्दै आएको स्थानीय जित बहादुर रानाले बताए। दुई नम्बर ईटा प्रयोग गरि निर्माणकै क्रममा पनि नाली भत्किन थालेपछि मजदुरहरुले लामा खडका कृष्ण जेभीका इन्जिनीयरलाई एक नम्बर ईटा ल्याउन माग गर्दै आएका छन्। तर निर्माण व्यवसायीले भने सोही ईटाको प्रयोग गर्न दवाव दिदै आएको बुझिएको छ। स्थानीय महेश्वरी खनाल जोशीले मजदुरहरुले निर्माण व्यवसायीलाई कमसल ईटाको प्रयोगले काम गर्न पनि समस्या भएको भन्दै एक नम्बर ईटा ल्याउन माग गर्दै आएपनि इन्जिनीयरले हप्काउने गरेको बताईन्। उक्त सडकको दुवैतर्फ झण्डै आधा भन्दा बढि नाली निर्माण भइसकेको छ। निर्माण भएको नालीमा दुई नम्बर ईटाको प्रयोग भएको दावी स्थानीयको छ।
तर केही स्थानीयले निर्माण व्यवसायीलाई आफ्नो घर अगाडीको सडकमा पनि दुई नम्बर ईटा प्रयोग गरेमा निर्माण कार्य गर्न नदिने चेतावनी दिएपछि कमसल ईटालाई फिर्ता पठाउदै एक नम्बर ईटा ल्याएको जनाएको छ। विगतमा झण्डै ८/९ वर्ष निर्माण क्षेत्रमै काम गरेको बताउने बेलाकै अर्का स्थानीय रघुनाथ जोशीले दुई नम्बर ईटा प्रयोग नगर्न आग्रह गरेपछि ठेकेदारले अली राम्रो ईटा ल्याएको बताए। सडकको नाली निर्माणमा दुई नम्बर ईटा प्रयोग भएको स्वीकार गर्दै लामा खडका कृष्ण जेभीले दोष भने ईटा व्यवसायीमाथि थुपारेको छ। लामा खडका कृष्ण जेभीको बेला सडकका साईड इन्चार्ज दिपक बिसीले भट्टाले विलमा ईटाको गुणस्तर बारे उल्लेख नगरेरै ईटा पठाएपछि कमसल ईटा प्रयोग गरिएको दावी गरे।
सघन शहरी विकास कार्यक्रम कार्यान्वयन गरिरहेको संघिय योजना कार्यान्वयन ईकाई धनगढीले भने नालीमा दुई नम्बर ईटा प्रयोग भएको पाईएमा नाली भत्काएर पुनः निर्माण गर्न लगाईने दावी गरेको छ। संघिय योजना कार्यान्वयन ईकाईका इन्जिनीयर श्यामचन्द्र बुढाथोकीले कमसल ईटा प्रयोग भएको भेटिए नाली भत्काएर पुनः निर्माण गर्न लगाईने बताए।नगर क्षेत्रमा कार्यान्वयन भइरहेका भौतिक पूर्वाधारको योजनाको गुणस्तर मापन गर्ने जिम्मेवारी धनगढी उप–महानगरपालिकाको पनि हो तर जनप्रतिनिधिहरुले भने आँखा अगाडी भइरहेको गुणस्तरहीन कामलाई पनि नदेखेझै गर्ने गरेका छन्।वडा नम्बर ११ का अध्यक्ष गंगाराम राना दुई नम्बर ईटा प्रयोग गरी नाली निर्माण भईरहेको सडक खण्डमा दैनिकजसो आवातजावत गर्दै आएपनि उहाँले कमसल काम नदेखेझै गरेको स्थानीयले आरोप लगाएका छन्।