दार्चुलामा सहमतिविपरीत महाकालीमा तटबन्ध बनाउँदै भारत
नेपाल: भारतबीच आफूखुसी तटबन्ध नबनाउने सहमति भएको थियो। तर दार्चुलामा अन्तर्राष्ट्रिय कानुन र आपसी सहमतिविपरीत भारतले महाकालीको बहाव नेपालतर्फ फर्कने गरी तटबन्ध बनाइरहेको छ। जिल्लको सदरमुकाम खलंगा बजारको पारिपट्टि भारतले पक्की तटबन्ध निर्माण थालेको हो।
भारतीय केन्द्रीय जल विभागले माघ ४ बाट खलंगाको पुलघाटदेखि तल्लो क्षेत्रमा करिब दुईदेखि पाँच मिटर नदीतिरको भागमा तटबन्ध निर्माण सुरु गरेको छ। नदीको बहाव परिवर्तन हुने गरी तटबन्ध बनाउन थाले पनि भारतले नेपाली प्रशासनसँग समन्वय गरेको छैन। तटबन्ध निर्माण गर्दा भारतीय पक्षले समन्वय नगरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
गत वर्ष पुसमा पनि भारतले एकतर्फी रूपमा सदरमुकाम पारिपट्टि बाढीले धार परिवर्तन गरेको नदी क्षेत्र मिचेर करिब १२० मिटर बाँध बनाएको थियो।