सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका न्यायाधीश संक्रमित भएपछि जिल्ला अदालत बन्द

२०७८ माघ ८, ११:०० खबर संवाददाता

बझाङः न्यायाधीशसहित एकजना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि जिल्ला अदालत बझाङले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ।

सेवाग्राही र अन्य कर्मचारीलाई कोरोना सर्ने जोखिम बढेपछि जिल्ला अदालत बझाङले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको हो।

स्वास्थ्य परीक्षण गर्दा जिल्ला न्यायाधीश लगायत कर्मचारीलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो।

कार्यालयले बिहीबार सूचना प्रकाशन गरेर माघ १४ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जनाएको छ। संक्रमण नियन्त्रणमा नआए थप केही दिन सेवा रोकिने पनि बताइएको छ।

अदालतका कर्मचारीहरूका अनुसार जिल्ला अदालत बझाङबाट हदम्याद सकिने फिरादपत्र, उजुरी, प्रतिउत्तर पत्र तथा अभियोग दर्ता, प्रतिवादीको बयान, थुनछेक आदेश, पक्राउ पुर्जी तथा पक्राउ पुर्जी स्वीकृति, हिरासत निगरानी कक्षमा राख्ने अनुमतिको आदेश दिने तारिख लिने लगायतका सेवा मात्र प्रवाह हुने भएका छन्।
 

कमेन्ट लोड गर्नुस