बाजुरामा भालुको आक्रमणबाट महिला घाइते
बाजुराः बाजुरामा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन्। जिल्लाको बुढीगङ्गा नगरपालिका–४ खडालबाडामा जङ्गली जनावर भालुको आक्रमणमा परी एक महिला गम्भीर घाइते भएकी हुन्।
घाइते हुनेमा सोही नगरपालिका–४ खडालबाडाकी ४८ वर्षीया नन्दा रावत रहेकी छन्। आज घर नजिकैको जङ्गलबाट आएको भालुले आक्रमण गरी घाइते बनाएको छोरा राजेन्द्र रावतले जानकारी दिए।
भालुले आक्रमण गर्दा हात, टाउको, खुट्टा र मुखलगायत शरीर विभिन्न भागमा चोट लागेको रावतले बताए। घाइते महिलाको उपचारका लागि टाँटे स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।