कञ्चनपुर जिल्ला लिग फुटबल : दीपज्योती शीर्ष स्थानमा
कञ्चनपुर : अखिल नेपाल फुटबल संघ 'एन्फा'को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित जिल्ला लिग फुटबल प्रतियोगिताको मंगलबार भएका खेलमा तीन क्लब विजयी भएका छन्। जसमा डिफेन्डिङ च्याम्पियन दिपज्योती युवा क्लब समूह 'ए' बाट लिगको शीर्ष स्थानमा स्थान सुरक्षित गरेको छ।
मंगलबार भएका लिगका तीन खेलमा सेक्युर्ड नेपाल, युथ क्लब अफ महाकाली र दीपज्योती युवा क्लबले जित निकालेको हो। सेक्युर्ड नेपाल र द ग्यालेक्सी युथ क्लबबीच भएको पहिलो खेलमा सेक्युर्ड नेपालले ग्यालेक्सीलाई ११-० गोलको अन्तरले हराउँदै लिगका खेलमा दुई हारका साथै दुई जित निकाल्दै ६ अंक जोड्न सफल भयो। ग्यालेक्सी युथ क्लब चार हारका साथ अंकविहीन रहेको छ।
दोस्रो खेल राम युवा क्लब र युथ क्लब अफ महाकालीबीच भएको थियो। राम युवा क्लबलाई १-२ गोलको अन्तरले हराउँदै युथ क्लब अफ महाकालीले तीन जितका साथै ९ अंकको साथ समूह 'ए' को दोस्रो स्थानमा रहेको छ। लगातार चार हारका साथ राम युवा क्लब अंकविहीन रहेको छ।
यसैगरी हिजोको दिपज्योती युवा क्लब र अरनिको युवा क्लबबीच भएको अन्तिम खेलमा दीपज्योतीले १-० गोलको अन्तरले अरनिको युवा क्लबलाई हराउँदै चार जितका साथ १२ अंक जोड्दै समूह 'ए' को शीर्ष स्थानमा उक्लिएको छ। अरनिको युवा क्लबले लिगका तीन खेल खेल्दै दुई जित एक हारका साथ ६ अंकमा रहेको छ।
बुधबार (आज) तीन खेल हुनेछन्। जसमा पहिलो खेल निङ्गलाशैनी युवा समाज र आदर्श नेपालबीच बिहान १० बजे, दोस्रो खेल कञ्चन समाज र महेन्द्रनगर युनाइटेडबीच दिउँसो १ बजे हुनेछ। तेस्रो खेल रोयल गोर्खाज र त्रीपुरा समाजबीच दिउँसो ३ बजे हुने लिग संयोजक चन्द्रसिंह थलालले बताए।
जिल्ला लिग फुटबल प्रतियोगितामा संघमा आवद्ध १२ क्लबहरुको सहभागिता रहेको छ। जसमा दुई समूहमा विभाजन गरी लिग सञ्चालनमा रहेको छ। जसमा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गरि खेलकुद सञ्चालन हुनेछन्।