त्रिनगर र गड्डाचौकीमा होल्डिङ सेन्टर निर्माण गर्न बजेट अभाव
सम्झौताको ५९ प्रतिशत रकम भुक्तानी हुन बाँकी
धनगढीः पश्चिमी सीमा नाका गड्डाचौकी र त्रिनगर नाका नजिक होल्डिङ सेन्टरको निर्माणमा बजेट अभाव हुने देखिएको छ। नेपाली सेनामार्फत हनुमान कन्स्ट्रक्सनले होल्डिङ सेन्टर निर्माण जारी राखेकोमा आवश्यक बजेट संघीय अर्थ मन्त्रालयले निकासा नगरेको हो। नेपाली सेनाले बजेटका लागि प्रक्रिया पूरा गरेको भए पनि अर्थ मन्त्रालयले बजेट निकासा नगर्दा काममा थप ढिलाई हुने देखिएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बडहरा र भीमदत्त नगरपालिका वडा नम्बर १८ सालघारीमा एक÷एक हजार शय्याका होल्डिङ सेन्टर निर्माणको काम थालिएको थियो। नेपाल सरकारले नेपाली सेनामार्फत नौ वटा होल्डिङ सेन्टर निर्माणका लागि गत असार ३ गते हनुमान कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो।
नेपालका विभिन्न सात ठाउँमा होल्डिङ सेन्टर निर्माणको काम जारी छ। होल्डिङ सेन्टरमा भौतिक संरचना निर्माणको काम पूरा भएको छैन। होल्डिङ सेन्टरका लागि एक हजार शय्या क्षमताका टहरा निर्माणको काम जारी छ। सडक, बिजुली खानेपानी जडान लगायतको विषयमा पनि टुंगो लागेको छैन।
निर्माणको जिम्मा पाएको हनुमान कन्स्ट्रक्सनले ५९ प्रतिशत भुक्तानी पाएको छैन। एक होल्डिङ सेन्टर निर्माणका लागि २८ करोड ८१ लाखमा सम्झौता भएको थियो। सो रकमको ४१ प्रतिशत मात्र नेपाली सेनाले निर्माण कम्पनीलाई भुक्तानी दिएको हनुमान कन्स्ट्रक्सन धनगढी प्रतिनिधि यज्ञपुरुष न्यौपानेले बताए। उनले भने, ‘हामीले ४१ प्रतिशत रकम मात्र पाएका छौ। अझै ५९ प्रतिशत भुक्तानी पाउँन बाँकी छ। अर्थ मन्त्रालयले रकम पठाएको छैन। अर्थ मन्त्रालयबाट सेनालाई बजेट आएपछि मात्र हामीले भुक्तानी पाउने हो।’
धनगढीको होल्डिङ सेन्टरको भौतिक प्रगति ७५ प्रतिशत पूरा भएको छ। भीमदत्तको ८५ प्रतिशत भौतिक प्रगति पूरा भएको छ। तर सेनाको निर्माण कम्पनीले ४० प्रतिशत मात्र भुक्तानी पाएको छ। नेपाली सेनाको स्रोतका अनुसार अर्थ मन्त्रालयमा रकम माग गरिएको छ। सेनाको स्रोतले भन्यो, ‘हामीले निर्माण कम्पनीमार्फत होल्डिङ सेन्टर निर्माण गर्दैछौ। अर्थ मन्त्रालयले बजेट पठाउने हो। तर बजेट आएको छैन। निर्माण कम्पनीले हामीलाई रकम माग गर्दै आएको छ। तर सेनासँग बजेट छैन।’
यता अर्थ मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बजेट प्रक्रियामा रहेको बताए। उनले भने, ‘सेनाले माग गरेको भए प्रक्रियामा होला। अर्थ मन्त्रालयले भुक्तानी सेनालाई दिने हो। नदिएको भए हामी दिन्छौ।’