सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा आजदेखि कडाइ, खोप कार्ड अनिवार्य

फाइल फोटो
फाइल फोटो
२०७८ पुष २८, ०४:२७ खबर संवाददाता

बैतडीः कोरोना भाइरसको जोखिम बढ्दै गएपछि बैतडी प्रशासनले कडाइ गरेको छ। प्रशासनले सरकारी कार्यालयका सेवा लिदा कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य साथ राख्नुपर्ने जनाएको छ। कोरोना संक्रमणको जोखिम कम गर्न र खोपमा सबैको पहुँच पुर्याउन खोप कार्ड अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए। 

गृहमन्त्रालयको निर्देशन अनुसार आगामी माघ ७ गतेदेखि सरकारी कार्यालयमा सेवा लिनका लागि पुग्ने नागरिकले अनिवार्य खोप कार्ड साथमा राख्नुपर्ने सूचना अधिकारी भारतीले बताए। कोरोनाको ओमीक्रोन भेरियन्ट तीव्र गतिमा फैलिन थालेपछि हरेक स्थानीय तहमा आइसोलेसन कक्षको व्यवस्थापन गर्न पनि आग्रह गरिएको उनले बताए।

यस्तै घर बाहिर निस्कँदा वा सार्वजनिक स्थलमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गरी गतिविधि सञ्चालन गर्न र राम्ररी साबुनपानीले हात धुन, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आह्वान गरिएको छ। स्थानीय तहसँगको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयले सबै विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउने गरी कार्यतालिका बनाएर कार्यान्वयन गर्न आह्वान गरेको छ। यस्तै २५ जना भन्दा बढी भेला नहुनुपर्ने र सामाजिक दुरी कायम गर्न पनि आग्रह गरिएको छ।

कमेन्ट लोड गर्नुस