सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको चौमला–कनरी सडकको निर्माण अधुरै

२०७८ पुष २२, ०८:११ कमल सावद

धनगढीः कैलालीको चौमलाबाट बेहडाबाबा हुदै कनरी पुग्ने सडकले उत्तरमा पूर्वपश्चिम र दक्षिणमा हुलाकी राजमार्गलाई जोड्छ। गौरीगंगा नगरपालिकाको झिल क्षेत्र र धनगढी उपमहानगरपालिकाको कनरी क्षेत्रमा सडक कालोपत्रे छ।

तर धनगढी उपमाहानगरपालिका वडा नम्बर १६ र गौरीगंगा नगरपालिका वडा नम्बर १ को क्षेत्रमा कालोपत्रे भएको छैन। सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार कार्यालय कैलालीले चौमाला पुरानो बजारदेखि सढे चार किलोमिटर कालोपत्रेका लागि ठेक्का गरेको थियो।

२०७६ फागुन २८ गते सम्झौता भएको उक्त सडक कालोपत्रेको काम २०७८ को भदौ २२ मा पूरा गर्नुपर्ने हो। तर निर्माण कार्य अझै भएको छैन। पूर्वाधार कार्यालय कैलालीका सूचना अधिकारी इन्जिनियर नवराज रावलले समय थप गरिएको बताए। ‘सव–बेसको काम भएर अहिले बेसको काम हुँदैछ। फागुनसम्मको समय थपिएको छ,’ उनले भने।

सात करोडमा सम्झौता भएकोमा पूर्वाधार कार्यालय कैलालीले डिजायनमा त्रुटि गरेकाले सडक निर्माणमा समय लागेको निर्माण कम्पनीको दाबी छ। शनिवेद–उच्चाकोटी जेभिका सञ्चालक सुरेन्द्र पन्तले थपिएको समयमा निर्माणको काम पूरा हुने बताए। `ग्राभेल, बेस र नाली निर्माणको काम हुँदैछ। केही प्राविधिक समस्या थियो। अहिले समस्या समाधान भएको छ। हामी पिचको तयारीमा छौ।

चिसो सकिने बित्तिकै सुरु गर्छाै,´ उनले भने। नौ मिटर चौडाइ रहेको उक्त सडकमा सात मिटरको कालोपत्रे हुने छ। चौमाला पुरानो बजार क्षेत्रमा डेढ किलोमिटरमा मात्र नाली निर्माण हुने छ। बाँकी सडकमा नाली छैन। चौमाला–बेहराबाबा–कनरी सडक झण्डै १८ किलोमिटर लामो छ। तर अहिले साढे ४ किलोमिटर मात्रै कालोपत्रे हुन लागेको हो।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस