सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा एमालेको चुनावी चहलपहल, आकांक्षीको दौडधुप सुरु

२०७८ पुष २०, ०६:३८ कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेशमा नेपाल कम्यूनिष्ट पार्टी एमालेको चुनावी चहलपहल सुरु भएको छ। यतिबेला जिल्ला अध्यक्षका आकांक्षीहरु दौडधुपमा लागेका छन्। उनीहरुले अहिले राजनीतिक छलफलका गरिरहेका छन्। प्रदेशका ९ वटै जिल्लामा पुस २३ गते जिल्ला अधिवेशन गर्ने तयारी छ। ९ जिल्लामै आकांक्षीहरुको सङ्ख्या धेरै भएकाले नेताहरुबीच अन्तरक्रिया र छलफल हुन थालेको छ। 

कैलाली जिल्लाको नेतृत्वका ३ जना आकाङ्क्षी देखिएका छन्। कैलालीमा वर्तमान अध्यक्ष रतन थापा, उपाध्यक्ष रणबहादुर चन्द र नेता डेजी पाण्डेले इच्छा देखाएका छन्। एमालेको ९औँ महाधिवेशनमा उपाध्यक्षमा निर्वाचित थापा र सचिवमा निर्वाचित चन्दले एमाले विभाजनपछि अध्यक्ष र उपाध्यक्षको पद सम्हालिरहेका छन्। रणबहादुर चन्दले पार्टीका नेता र कार्यकताको सुझाव अनुसार अध्यक्षको आकांक्षी रहेको बताए। उनले भने, ‘नेता र कार्यकर्ताले माग गरेकाले म अध्यक्षको आकाङ्क्षी हो।’

उता कञ्चनपुरको नेतृत्व छनोटका लागि पनि छलफल जारी छ। जिल्लामा एमालेका वर्तमान अध्यक्ष वीरबहादुर थापा र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट अध्यक्षमा आकाङ्क्षी छन्। उनीहरुका बीचमा बुधवार छलफल हुने भएको छ। वीरबहादुर थापाले नेताहरुबीच छलफल जारी रहेको बताए। उनले भने, ‘बजारको हल्लाले हुँदैन। हामी छलफलमा छांै। कति जना भन्न सकिँदैन।’

डडेल्धुरामा अध्यक्षका लागि वर्तमान अध्यक्ष प्रकाश साउँद, अमरगढी नगरपालिकाका मेयर विशेश्वर प्रसाद ओझा, राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष गजेन्द्र शाही र प्रदेश कमिटी सदस्य पदम पालले आकाङ्क्षा देखाएका छन्। उनीहरुका बीचमा पनि सहमतिको प्रयास जारी रहेको पार्टीको दाबी छ। बैतडीमा वर्तमान अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द अध्यक्ष पदमा आकाङ्क्षी देखिएका छन्। पार्टीले सहमति गरेमा दार्चुलामा वर्तमान अध्यक्ष रामचन्द्र जोशी पुनः अध्यक्ष बन्ने दाउमा छन्।

 तर उनीसँगै नौगाढ गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामी, एमाले प्रदेश कमिटी सदस्य मोहनसिंह धामी, वर्तमान उपाध्यक्ष उदयसिंह बडाल र ज्ञानेन्द्र घर्तीले पनि अध्यक्ष बन्ने चाहना बनाएका छन्। बाजुरामा कालीबहादुर शाही, भरत थापा, भरत बुढा र लालबहादुर ओली अध्यक्षका आकाङ्क्षी छन्। 

अछाममा प्रकाश शाहले पत्रकार सम्मेलन गर्दै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए। उनीसँगै अछाममा चन्द्र बोहरा र कृष्णप्रसाद जैशी पनि अध्यक्षका आकाङ्क्षी छन्। बझाङ र डोटीको नेतृत्वको आकाङ्क्षीहरु भने अझै खुलेका छैनन्। 


 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस