सुदूर नेपाललाई विश्वसँग जोड्दै

गर्भवतीलाई पौष्टिक आहार उपहार

२०७८ पुष १८, ०९:५५ रासस

काठमाडौं : बेनी–१ रत्नेचौरमा गर्भवतीलाई पौष्टिक आहार उपहार दिने गरिएको छ। नियमित गर्भ परीक्षण, स्वास्थ्य संस्थामा पुगेर सुरक्षित प्रसूति सेवा लिन प्रेरित गर्ने, कुपोषण न्यूनीकरण र मातृशिशु स्वास्थ्यमा सुधार ल्याउन आमा समूहले पौष्टिक आहार उपहार दिने गरेका हुन्।

साविक रत्नेचौर गाविसको नौवटा वडास्तरमा स्वास्थ्य आमा समूह सक्रिय छन्। हरेक महिनाको ३ गते बस्ने बैठकमा गर्भवतीलाई ५०० मूल्य बराबरको पौष्टिक आहार उपहार दिने गरिएको सङ्गम आमा समूहका सदस्य अस्मिता बोगटीले जानकारी दिइन्। “गर्भवती भएको जानकारी पाएपछि अण्डा, गेडागुडी र सरसफाइका सामग्री उपहार दिने गरिएको छ”, उनले भनिन्, “स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधिको समेत उपस्थितिमा बस्ने बैठकमा टोलका विकास र सामाजिक गतिविधिदेखि हजार दिनका आमा बच्चाको स्वास्थ्य, पोषण र सरसफाइ विषयमा छलफल गर्छौँ।”

समूहका बैठकमा सहभागी भएर सिकेको ज्ञानले बुहारी गर्भवती र सुत्केरी हुँदा स्याहारसुसार गर्न सजिलो भएको रत्नेचौर उपल्लाचौरकी देवी थापामगरले बताइन्। उनकी बुहारी कमला दुई महिनाअघि सुत्केरी भएकी थिइन्। आमा समूहको बैठकमा नियमित सहभागी हुने रत्नेचौर उपल्लाचौरकी सीता थापा दुई महिनाअघि सुत्केरी भएकी थिइन्। आमा समूहले दिने सहयोगले गर्भवती अवस्थामा हौसला मिलेको, आत्मबल बढेको र सिकेका ज्ञान बच्चा र आफ्नो स्वास्थ्यका लागि उपयोगी भएको थापाले बताइन्। 

रत्नेचौरका जनप्रतिनिधिले आमा समूहको मागअनुसार पोषण प्रवद्र्धन र सचेतना अभिवृद्धिका लागि बजेटको समेत व्यवस्था गरेका छन्। आमा समूहको सक्रियता र पोषणसम्बन्धी कार्यक्रम बच्चा र आमाको स्वास्थ्य अवस्था सुधार तथा कुपोषण न्यूनीकरणमा प्रभावकारी बनेको रत्नेचौरका वडाध्यक्ष टेकबहादुर रावलले बताए।

उनले स्वास्थ्य स्वयंसेविका प्रोत्साहन तथा पोषण सुधारका लागि चालु आर्थिक वर्षमा एक लाख बजेट विनियोजन गरिएको जानकारी दिए। विगतका वर्षमा पनि सोही अनुपातमा बजेट विनियोजन गरिएको थियो। सो बजेटबाट महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता विकासका साथै वडाका गर्भवतीलाई पौष्टिक र सरसफाइका सामग्री लिएर जनप्रतिनिधिले घरभेट गर्ने गरिएको वडाध्यक्ष रावलले बताए।

कमेन्ट लोड गर्नुस