बैतडीमा योजना आयोगको अन्तरक्रिया कार्यक्रम
धनगढीः राष्ट्रिय योजना आयोगले बैतडीमा अन्तरक्रिया कार्यक्रम गरेको छ। जिल्लाका सरकारी कार्यालय प्रमुख, सुरक्षा निकाय र जनप्रतिनिधि लगायतसँग आयोगले अन्तरक्रिया गरेको हो। पाटनमा गरिएको अन्तरक्रियामा केन्द्र सरकारबाट आउने बजेटको कार्यान्वयन, योजना निर्माणबारे छलफल गरिएको छ।
यसका साथै विशेष र समपूरक बजेट कार्यान्वयनबारे र आगामी दिनमा कस्ता योजना ल्याउनु उपयुक्त हुन्छ भन्नेमा पनि छलफल भएको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले जानकारी दिए। छलफलमा विषेश गरेर पञ्चेश्वर परियोजना, पश्चिमसेती अगाडि बढाउनुपर्ने, पाटन–पञ्चेश्वर सडक, मध्यपहाडी लोकमार्गको स्तरोन्नति, महाकाली करिडोर तीव्र गतिमा निर्माण गर्नुपर्ने, बिओपी भवन र प्रहरी चौकी निर्माण गर्न भएको समस्या तथा गत असोज पहिलो साताको अविरल वर्षाले गरेको क्षति, महाकालीमा झोलुंगे पुल निर्माण, ठेकेदारका कारण योजना समयमै निर्माण नहुनेलगायत समस्याबारे पनि छलफल भएको छ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले योजना कार्यान्वयन कसरी भइरहेको छ भनेर अन्तरक्रिया गरिएको बताउँदै बैतडीको आवश्यकताअनुसार योजना राखिने बताए।