ओमिक्रोन र डेल्टाले संक्रमणको सुनामी ल्याउन सक्छः डब्लूएचओ
काठमाडौँः विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको ओमिक्रोन र डेल्टा भेरिएन्टले संक्रमणको सुनामी ल्याउन सक्ने चेतावनी दिएको छ। पछिल्लो समय कोरोनाका यी दुई भेरिएन्टका कारण विश्वव्यापी रूपमै संक्रमण तीव्र भएको डब्लूएचओको भनाइ छ। समाचार संस्था रोयटर्सका अनुसार पछिल्लो समय विश्वभर दैनिक ९ लाख संक्रमित थपिने गरेका छन्। पछिल्लो समय युरोपेली मुलुकमा संक्रमण अत्यधिक बढिरहेको छ। फ्रान्समा लगातार दोस्रो दिन २ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ। त्यस्तै पोल्यान्डमा कोरोनाको चौथो लहर तीव्र रूपमा फैलिइरहेको छ।
पोल्यान्डमा बुधबार मात्रै कोरोनाका कारण ७९४ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। मृत्यु भएकामध्ये तीन चौथाइले कोरोनाविरुद्धको खोप नलगाएको पाइएको छ। त्यस्तै पछिल्लो समय डेनमार्क, पोर्चुगल, इंग्ल्यान्ड र अस्ट्रेलियामा पनि संक्रमण बढिरहेको छ। पछिल्लो समय विश्वभर कोरोनाको ओमिक्रोन भेरिएन्ट नै हाबी भएको विज्ञहरूको भनाइ छ। डेल्टाको तुलनामा यसबाट हुने जोखिम कम भए पनि यसैका कारण संक्रमणमा तीव्रता आएको जनस्वास्थ्यविद्को भनाइ छ।
डब्लूएचओका महानिर्देशक डा टेड्रोस एडहानोम गेहब्रेयससले पनि डेल्टा र ओमिक्रोन नै विश्वमा तीव्र रूपमा भइरहेको संक्रमणको प्रमुख कारण भएको बताएका छन्। बुधबारको वक्तव्यमा महानिर्देशक टेड्रोसले भनेका छन्, भाइरस निरन्तर रूपमा उत्परिवर्तित भइरहेको छ। यदि हामीले सामूहिक रूपमा प्रयत्न नगर्ने हो भने यसले हाम्रो स्वास्थ्य प्रणालीलाई चुनौती थप्ने छ। कीर्तिमानी संख्यामा संक्रमण बढ्नुमा डेल्टा र ओमिक्रोन भेरिएन्ट दुवै प्रमुख कारण रहेको उनको भनाइ छ। 'ओमिक्रोन धेरै संक्रामक हुनु चिन्ताको कुरा हो। उही समयमा डेल्टाजस्तै यो भेरिएन्ट पनि फैलिइरहेकाले संक्रमणको सुनामी आउन सक्ने जोखिम छ,' उनले भनेका छन्। उनले कोभिडका कारण मात्रै स्वास्थ्य प्रणाली धराशायी नभएको उल्लेख गर्दै स्वास्थ्यकर्मी आफैं बिरामी परेकाले थप चुनौती थपिएको बताए।
त्यस्तै खोप नलगाएका व्यक्ति सबैभन्दा बढी जोखिममा रहेकाले पनि यसलाई तीव्रता दिनुपर्नेमा उनले जोड दिएका छन्। डब्लूएचओका १९४ सदस्य राष्ट्रमध्ये ९२ मुलुकले ४० प्रतिशतले पनि खोप नलगाएको उनको भनाइ छ। न्यून आय भएका मुलुकमा खोपको आपूर्ति कम भएको र सिरिन्ज अभावका कारण उत्पादित भएका खोपको पनि म्याद जाने जोखिम थपिएको उनले बताए। यसले २०२२ को जुलाईसम्ममा ७० प्रतिशतलाई खोप लगाइसक्ने डब्लूएचओको लक्ष्यमा चुनौती थपिएको छ।