२२० मा सङ्क्रमित थपिए
काठमाडौँ: पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले सात हजार ६०८ जनामा कोरोना परीक्षण गर्दा २२० जनामा नयाँ सङ्क्रमण पुष्टि भएको जानकारी दिए।
योसँगै सक्रिय सङ्क्रमित सङ्ख्या नेपालमा चार हजार ८६४ पुगेको छ । सङ्क्रमण दर ३.२ प्रतिशत रहेको उनले जानकारी दिए। पछिल्लो समय थप २५३ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्। योसँगै निको हुनेको सङ्ख्या आठ लाख ११ हजार ५१८ पुगेको छ।
काठमाडौँ उपत्यकाभित्र भक्तपुरमा १३ जना, ललितपुरमा १८ र काठमाडौँमा ९२ जना सङ्क्रमित भएका छन्। उनका अनुसार होम आइसोलेशनमा चार हजार ६०८, संस्थागत आइसोलेशनमा २५६, आइसियुमा ८७ र भेन्टिलेटरमा २१ जनाको उपचार हुँदैछ।
कोरोनाबाट दुईको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोनाबाट आज थप दुई जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५९० पुगेको छ। त्यसैगरी पछिल्लो समय दुई लाख दुई हजार ६८७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।