सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सव डिभिजनसँगै रहेको वन अतिक्रमण गर्न प्रतिस्पर्धा

२०७८ पुष १४, १२:२२ कमल सावद

धनगढीः कैलालीमा सव डिभिजनसँगै रहेको वन क्षेत्र अतिक्रमण गर्न त्रिपक्षीय प्रतिस्पर्धा भएको पाइएको छ। सव डिभिजन वन कार्यालय अत्तरियासँगै जोडिएको वन क्षेत्र अतिक्रमण गर्न गोदावरी नगरपालिका, सहकारी र स्थानीयबीच प्रतिस्पर्धा नै हुन थालेको हो। 

अत्तरिया चोकदेखि पूर्व–दक्षिणको क्षेत्रको सुरक्षा सामुदायिक वन क्षेत्रमा सयौं सालका रुख सुकेका छन्। सव डिभिजन वन कार्यालयसँगै जोडिएको उक्त सामुदायिक वनका सालका रुख सुकाएर अतिक्रमण हुँदै आएको छ। गोदावरी नगरपालिकाले उक्त क्षेत्रमा पार्क निर्माणका लागि विस्तृत योजना प्रतिवेदन(डीपीआर) निर्माण गरेको छ भने डिभिजन वन कार्यालय धनगढीले सशस्त्र वन रक्षकको कार्यालय निर्माणको काम सुरु गरेको छ। 

उक्त क्षेत्रमा नै सहकारी, मन्दिर तथा स्थानीयले पनि भौतिक संरचनाहरु निर्माण गरेका छन्। गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले गोदावरी नगरपालिकाले उक्त क्षेत्रमा पार्क निर्माणको लागि डीपीआर निर्माण गरेको बताए। ‘हामीले पार्क निर्माणका लागि डीपीआर बनाएका थियांै। १२ बिघामा पार्क निर्माणका लागि बनाइएको डीपीआरमा हाम्रो रकम खर्च भएको छ। हामीले पर्खालसमेत निर्माण गरेका थियौं’ उनले भने, ‘तर वन कार्यालयले शसस्त्र वन रक्षकको भवन निर्माण गरेपछि जमिन कम भएको छ। हामीले सामुदायिक वनलाई थप जमिन माग गर्नुपर्ने देखिएको छ।’ नगरपालिकाले लाखौं रकम खर्चेर डीपीआर निर्माण गरेको हो।

 उक्त क्षेत्रमा पार्क निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले चार करोड ९४ लाख विनियोजन गरेको छ। १२ बिघा जमिनमा पार्क निर्माणका लागि डीपीआर निर्माण भएकोमा डिभिजन वन कार्यालयले सशस्त्र वन रक्षकको भवन निर्माणको काम सुरु गरेपछि त्यो काम प्रभावित भएको छ। ‘हामीले सामुदायिक वनलाई जमिन मागेका थियौं। उहाँहरुले पहिले पनि पार्क निर्माणको काम गर्नुभएको थियो। हामीले व्यवस्थीत बनाउन मात्र खोजेका हौं’ प्रवक्ता भट्टले भने। 

नगरपालिकाले वनको स्वकृतिविना पार्क निर्माणको काम सुरु गरेको क्षेत्रमा डिभिजन वनले शस्त्र वन रक्षकको भवन निर्माण गरिरहेको छ। उक्त क्षेत्रमा साना किसान सहकारी संस्था, दुर्गा मन्दिर, ब्रहमाकुमारी योग शिविर, स्थानीय नागरिकका संरचनाहरु निर्माण भएका छन्।

तर डिभिजन वन कार्यालय कैलालीका प्रमुख केशव पराजुलीले नयाँ निर्माण गरिएको भौतिक संरचना हटाइने दाबी गरेक छन्।  ‘हामीले अतिक्रमण हटाउने काम गर्दै आएका छौं। अत्तरियामा धेरै ठाउँको वन क्षेत्र अतिक्रमण भएको छ। सव–डिभिजन पछाडि पनि अतिक्रमण भएको भए खाली गराउछौ,’ उनले भने।

कैलालीको वन क्षेत्रमा प्रत्येक वर्ष अतिक्रमण हुने क्रम रोकिएको छैन। स्थानीय तह लगायतका संघ/संस्थाहरुले सबैभन्दा बढी वन क्षेत्र अतिक्रमण गरि भौतिक संरचना निर्माण गर्दै आएका छन्। डिभिजन वन कार्यालय धनगढीका प्रमुख पराजुलीले संस्थागत अतिक्रमण खाली गराउन सबै भन्दा चुनौति रहेको बताए। 

उनले भने, ‘सरकारले नै वन ऐन मानेका छैन। वन संरक्षण गर्नु उहाँहरुको पनि दायित्व हो। तर वन अतिक्रमण गर्दै आएका छन्। कैलालीको ठूलो वन क्षेत्र अतिक्रमणमा रहेछ। ठूला शहर स्थापना भएका छन्। पुरानो अतिक्रमण खाली गर्न प्रदेश सरकारले नै योजना निर्माण गर्नुपर्छ।’


 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस