सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्यालय स्तरका खेलाडीका लागि एलपीएल प्रोत्साहित केन्द्र बनेको छ : मन्त्री जोशी

२०७८ पुष १२, ०९:३६ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले लिटल फ्लावर प्रिमियर लिग एलपीएल विद्यालय स्तरका खेलाडीका लागि सर्वाधिक प्रोत्साहनको केन्द्र बनेको बताएकी छिन्।

धनगढीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको समापन गर्दै मन्त्री जोशीले यस्तो बताएकी हुन्। धनगढीमा विगत ६ वर्षदेखि आयोजना हुँदै आएको विद्यालय स्तरको यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता(एलपीएल)लाई राष्ट्रिय स्तरमा ब्युँताएर खेलाडीलाई प्रोत्साहन गर्ने केन्द्र बनेको उनले बताइन्। साथै सुदूरपश्चिमको क्रिकेटले धनगढी प्रिमियर लिगबाट छलाङ मारेको उनको भनाई थियो।

विद्यालय स्तरबाट खेलाडी उत्पादन गरेर क्रिकेटको जग बलियो बनाउने उद्देश्यका साथ धनगढीमा २०७३ सालदेखि एलपीएल सञ्चालन भइरहेको आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताए।

देशभरका विभिन्न जिल्लाबाट विद्यालय स्तरका खेलाडी र १९ वर्ष मुनीका उमेर समूहका खेलाडी प्रतियोगितामा सहभागी हुन पाउँदा एलपीएल प्रतिभा प्रस्फुटनका लागि सुवर्ण अवसर बन्दै आएको यसमा सहभागी खेलाडीहरूले बताउने गरेका छन्। प्रतियोगिताको छैटौँ संस्करण माघ २२ गतेदेखि फागुन ७ गतेसम्म धनगढी स्थित सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा हुने छ।

कमेन्ट लोड गर्नुस