बैतडीमा फलाम खानीको सम्भाव्यता अध्ययन
धनगढीः सुदूरपश्चिमको बैतडीमा फलाम खानीको सम्भाव्यता अध्ययन गरिने भएको छ। जिल्लाको पुर्चौंडी क्षेत्रमा फलाम खानीको सम्भाव्यता अध्ययन गरिने भएको हो। पुर्चौंडी नगरपालिकाको वडा नं ७ र ८ मा पर्ने कालिढुंगा र घरकटट्यामा फलाम खानी रहेको र सम्भाव्यता अध्ययन गरिन लागेको बताइएको छ।
उक्त क्षेत्रमा खानीको सम्भाव्यता अध्ययनका लागि काठमाडौंको लैनचौरस्थित खानी तथा भूगर्भ विभागको टोली समेत आएको छ। सुरुमा उक्त क्षेत्रको वस्तुस्थिति अवलोकन गरिएको र अब फलाम खानीको सम्भाव्यता अध्ययन गर्ने तयारी भएको सिनियर डिभिजनल जियोलजिष्ट ठाकुर कँडेलले बताए।
उनले भने, 'वस्तुस्थिति अवलोकन सकेका छौं, सम्भ्याव्यता अध्ययनमा छौं, पहिला फलाम उत्खनन् गरेका ठाउँमा फलाम छ कि छैन भनेर सम्भाव्यता अध्ययन गर्छौं र त्यसपछि जमीनमुनि फलाम रहे नरहेकोबारे अध्ययन हुन्छ।' दुई तरिकाबाट फलाम खानीको सम्भाव्यता अध्ययन गरिने बताउँदै भूगर्भविद् कँडेलले इलेक्ट्रिक एसेसमेन्ट तरिका र म्याग्नेसियम तरिकाबाट अध्ययन हुने जनाए। सम्भाव्यता अध्ययनपछि फलाम भए नभएको थाहा हुनेछ। भूगर्भविद्हरुको टोलीले तयार पारेको प्रतिवेदनपछि फलाम खानी सञ्चालनका लागि थप प्रक्रिया शुरु हुने बताइएको छ। फलाम खानी सञ्चालन गर्न सके पुर्चौडी क्षेत्रको विकासका लागि निकै सहयोग पुग्ने स्थानीयहरुको भनाइ छ।