सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधिको लागि प्रदेश एक र एपीएफ खेल्ने

२०७८ पुष १०, ०५:२५ खबर संवाददाता

धनगढी: धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टीम एपीएफ र प्रदेश १ भिड्ने भएका छन्। शनिवार फाप्ला क्रिकेट मैदानमा भएको सेमिफाइनलमा जित हासिल गर्दै दुवै टोली उपाधिका लागि भिड्ने भएका हुन्। पहिलो सेमिफाइनलमा प्रदेश १ ले सुदूपश्चिम प्रदेशलाई ९ विकेटले हराएको हो भने एपीएफले लुम्बिनी प्रदेशलाई ३८ रनले पराजित गरेको हो। 

पहिलो सेमिफाइनलमा घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै  प्रदेश १ फाइनल पुगेको छ। सुदूरपश्चिम प्रदेशले दिएको ८६ रनको लक्ष्य प्रदेश १ ले एक विकेट क्षतिमा भेट्टायो। प्रदेश १ ले १६ दशमलव ५ ओभरमा विजय लक्ष्य पुरा गरेको हो। पहिलो विकेटका लागि ओपनरद्धय कप्तान रुविना क्षेत्री र काजल श्रेष्ठले ५३ रनको साझेदारी गर्दै सानदार जितको आधार खडा गरिन्। अन्तिम समयसम्म क्रिजमा टिकेकी कप्तान रुविनाले अविजित ३१ रन बनाइन्। कविता जोशीको बलमा बोल्ड भएकी काजलले टीमका लागि २८ रन बनाइन्। रुविनाले अप्सरी वेगमसँग पनि दोस्रो विकेटका लागि ३३ रनको साझेदारी गरिन्। अप्सरीले पनि अविजित ९ रन बनाइन्। सुदूरपश्चिमका लागि कविता जोशीले मात्रै एक विकेट लिइन्। 

यसअघि सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्दै  सामान्य योगफल मात्रै बनायो। ७ रनमा ३ विकेट गुमाएर धर्मराएको सुदुरपश्चिमले २० ओभरमा ७ विकेट क्षतिमा ८५ रन बनायो  सुदूरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक २७ रन बनाइन्। कप्तान रितु कनौजियाले २५ रन बनाइन्। त्यस्तै डल्ली भट्टले १२ रन बनाइन्। प्रदेश १ का लागि कप्तान रुविना क्षेत्री, अलिशा खाडिया, संगीता राई र ज्योती दनवारले समान एक विकेट लिइन्। खेलमा प्रदेश १ की कप्तान रुविना प्लेयर अफ द म्याच भइन्।  

यस्तै विभागीय टीम एपीएफ प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नजिक पुगेको छ। धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको दोस्रो सेमिफाइनलमा लुम्बिनी प्रदेशलाई ३८ रनले हराउँदै एपीएफ उपाधि नजिक पुगेको हो। टस जितेर पहिले ब्याटिङ गर्दै एपीएफले २० ओभरमा ३ विकेट क्षतिमा १२९ रन बनायो। एपीएफका लागि रोमा थापाले अविजित ४२ रनको पारी खेलिन्। त्यस्तै ममता चौधरीले २७ रन, सीता रानामगरले १८ रन, राजमति ऐरी १४ रन र ज्योती पाण्डेयले ११ रन थपिन्। लुम्बिनीका लागि मधु डिसी, नेरी थापा र कृतिका मरासैनीले समान १ विकेट लिइन्। 

१३० रनको विजय लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले ९१ रन मात्रै बनाउन सक्यो। निर्धारित २० ओभरमा लुम्बिनीले ५ विकेट क्षतिमा ९१ रन जोडेको हो। लुम्बिनीका लागि नेरी थापाले अविजित ३८ रन बनाइन्। नितु भण्डारीले १८ रन जोडिन्। तेस्रो विकेटका लागि नेरी र नितुले ४६ रनको साझेदारी समेत गरेकी थिइन्। एपिएफका लागि रेखा रावलले ३ विकेट लिइन्। सीता रानामगरको नाममा एक विकेट रह्यो। खेलमा एपिएफकी रोमा थापा प्लेयर अफ द म्याच भइन्। 

नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको फाइनल आइतवार हुनेछ। फाइनलमा उपाधिका लागि विभागीय टीम एपिएफ र प्रदेश १ प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख, ओम्यान अफ द सिरिज २५ हजार, बेष्ट बलरले १५ हजार तथा बेस्ट व्याट्सओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्ने छन्।

कमेन्ट लोड गर्नुस