प्रधानमन्त्री कप महिला क्रिकेट : सेमिफाइनलमा सुदूरपश्चिमको सामना १ नम्बर प्रदेशसंग
एपीएफले लुम्बिनी प्रदेशसंग खेल्ने
धनगढी : कैलालीको धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। आज भएका खेलमा विजयी हुँदै समूह ‘बी’ बाट विभागीय टोली समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ भने घरेलु टोली सुदूरपश्चिम पनि अन्तिम चारमा पुगेको हो।
समूह ‘ए’ बाट यसअघि नै समूह विजेता बन्दै प्रदेश नम्बर १ र उपविजेता बन्दै लुम्बिनी प्रदेश सेमिफाइनलमा पुगिसकेका छन्। धनगढीको फाप्ला क्रिकेट मैदानमा बिहीबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश २ लाई ८७ रनले हरायो। टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ४३ रन बनायो।
उसका लागि विन्दु रावलले अर्धशतकीय पारी खेलिन्। त्यस्तै रुवि पोदारले २१ रन, डल्ली भट्टले १५ रन बनाउँदा कविता जोशी र संगीता धामीले समान १३/१३ रन बनाइन्। प्रदेश २ का लागि विमला मगरले २ विकेट लिइन्। यस्तै साना प्रविन, अनुराधा चौधरीले एक/एक विकेट लिइन्।
१ सय ४४ रनको विजय लक्ष्य पछ्याएको प्रदेश २ ले २० ओभरमा ८ विकेट गुमाउँदै ५६ रन मात्रै बनाउन सक्यो। प्रदेश २ का लागि साना प्रविनले अविजित १४ र विमला मगरले १२ रन बनाइन्। सुदूरपश्चिमका लागि कविता जोशी र लक्ष्मी साउँदले समान २÷२ विकेट लिइन्। इश्वरी विष्टले १ विकेट लिइन। सुदूरपश्चिमकी विन्दु रावल प्लेयर अफ द म्याच भइन्।
बिहीवार नै भएको समूह चरणको अन्तिम खेलमा एपीएफले गण्डकी प्रदेशलाई एक सय १७ रनले हराएको छ। टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट क्षतिमा एक सय ५० रन बनायो। ममता चौधरीले ४३, सरीता मगरले अविजित २६ रन बनाउँदा रोमा थापाले २६ रन बनाइन्। ज्योती पाण्डेयले २४ रन जोडिन्।
गण्डकी प्रदेशका लागि मनिषा उपाध्यायले एक विकेट लिइन्। एक सय ५१ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशले २० ओभरमा ७ विकेट गुमाएर ३३ रन मात्रै बनाउन सक्यो। गण्डकीका लागि शिला क्षेत्रीले सर्वाधिक ८ रन बनाइन्। एपीएफका लागि करुणा भण्डारी र सुष्मा श्रेष्ठले समान २/२ विकेट लिइन्।
सोनु खड्का, सुमन बिष्ट र सिता राना मगरले समान १/१ विकेट लिए। खेलमा एपीएफकी ममता चौधरी प्लेयर अफ म्याच भईन् । प्रतियोगिता अन्तर्गत शुक्रबार विश्राम दिइएको छ। शनिबार सेमिफाइनल र आइतबार फाइनलका खेल हुने छन्। सेमीफाइनलमा सुदूरपश्चिम र प्रदेश नम्बर १ तथा लुम्बिनी प्रदेश तथा एपीएफबीच प्रतिस्पर्धा हुने छ।
नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सहआयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख, ओम्यान अफ द सिरिज २५ हजार, बेष्ट बलरले १५ हजार तथा बेस्ट व्याट्सओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्ने छन्।