बनेको दुई वर्षमै उप्कियो धनगढी बसपार्कको कालोपत्रे
धनगढीः सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीको बसपार्क भत्किएको छ। उपमहानगरपालिकाको वडा नम्बर ४ मा रहेको बसपार्कमा पुर्ननिर्माणको कार्य सम्पन्न भएको दुई वर्षमै कालोपत्रे उप्किन सुरु भएको हो।
बसपार्क निर्माणमा गुणस्तरहिन निर्माण सामग्रीको प्रयोग गरिएकाले भत्किएको सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले बताए। ‘बसपार्क राम्रो भएन। भत्किन सुरु भएको छ। मर्मत पनि गरिएको छैन’ उनले भने।
सघन सहरी विकास कार्यक्रममार्फत सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइले १ करोड १९ लाख ९२ हजारको लागतमा बसपार्क निर्माण गरेको थियो। त्यसपछि इकाईले धनगढी उपमहानगरपालिकालाई सञ्चालनका लागि बसपार्क हस्तान्तरण गरेको थियो। राजेन्द्र रुद्रावती जेभीले बसपार्क निर्माणको काम पूरा गर्दै दुई वर्ष पहिले सहरी विकासमार्फत उपमहानगरपालिकालाई सञ्चालनका लागि हस्तान्तरण गरेको थियो।
उपमहानगरपालिकाले वार्षिक ५० लाख रुपैयाँ बसपार्कबाट आम्दानी गर्दै आएको छ। एक वर्षसम्म मर्मतको दायित्व निर्माण कम्पनीको भएपनि अब उपमहानगरपालिकाले हेर्नुपर्ने हो। तर उपमहानगरपालिकाले मर्मतमा उदासीनता देखाएको छ। सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका प्रमुख प्रविन श्रेष्ठले बसपार्क मर्मतको दाहित्व उपमहानगरपालिकाको भएको बताए। उनले भने, ‘एक वर्षभित्र निर्माण कम्पनीले मर्मत गर्ने हो। अब निर्माण कम्पनीले मर्मत गर्दैन। उपमहानगरपालिकाले मर्मत गर्नुपर्ने हो।’
बसपार्क स्तरोन्नति तथा कालोपत्रे, सोलार बत्ति जडान, लाइनिङ्ग, प्रतिक्षालय लगायतका संरचना निर्माण सघन सहरी विकासमार्फत गरिएका थिए। बसपार्कमा जडान गरिएको सोलार बत्ति पनि बिग्रिएको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष दीपक थापाले बताए। ‘निर्माणको समयमा पनि मैले राम्रो काम नभएको भनेको थिए। पानी जमेको थियो। ठेक्दारले मान्नुभएन। सोलार बिग्रिएका छन्। कालोपत्रे फुटेको छ’ उनले भने, ‘हामीले मर्मत गर्नुपर्ने हो। म पहल गर्छु।’
७० वटा बस पार्किङ क्षमताको बसपार्कबाट दैनिक दुई सय ५० बढी बस छुट्ने गरेका छन्। यातायात प्रालिहरुले बसपार्कबाट हुने आम्दानीको केही प्रतिशत रकम बसपार्क संरक्षण र मर्मतमा खर्च हुनुपर्ने माग गरेका छन्।