सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताः समूह ‘ए’ मा प्रदेश १ विजयी

२०७८ पुष ६, ०४:४३ खबर संवाददाता

धनगढी: धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह ‘ए’ बाट प्रदेश नम्बर १ विजेता र लुम्बिनी प्रदेश उपविजेता बनेका छन्। समूह ‘ए’ बाट यसअघि नै सेमिफाइनल पुगेका दुवै टोलीमध्ये लुम्बिनीलाई प्रदेश १ ले हराएको हो। यो खेलको नतिजापछि प्रदेश १ समूह ‘ए’ को विजेता र लुम्बिनी उपविजेता बनेका हुन्।

फाप्ला मैदानमा मंगलबार भएको पहिलो खेलमा प्रदेश नम्बर १ ले लुम्बिनी प्रदेशलाई ६७ रनले हराएको हो।  प्रदेश नम्बर १ ले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेट क्षतिमा ११४ रन बनायो। प्रदेश नम्बर १ का लागि अप्सरी वेगमले सर्वाधिक ४४ रन बनाइन्। टीमका लागि काजोल श्रेष्ठले ४० रन बनाउँदा कप्तान रुविना क्षेत्रीले १५ रन थपिन्। दोस्रो विकेटका लागि काजोल र अप्सरीले ६२ रनको साझेदारी गर्दै टीमलाई उच्च स्कोरतिर डोराइन्। 

लुम्बिनी प्रदेशका लागि नेरी थापा, मधु डिसी र सरस्वती पुनले एक एक विकेट लिइन्। ११५ रनको विजय लक्ष्य पछ्याएको लुम्बिनीले ४७ रन मात्रै बनाउन सक्यो। निर्धारित २० ओभरमा लुम्बिनीले ९ विकेट क्षतिमा ४७ रन बनायो। लुम्बिनीको पारीमा कुनै पनि खेलाडीले दोहोरो रन अंक जोड्न सकेनन्। सरस्वती पुन र नितु भण्डारीले बनाएको नौ रन नै सर्वाधिक हो। तीन खेलाडी शुन्यमा आउट भए। तीन जना रनआउट भए। प्रदेश नम्बर १ का लागि कप्तान रुविना क्षेत्रीले तीन विकेट लिइन्। अलिशा खाडियाले दुई र संगिता राईले एक विकेट लिइन्। खेलमा प्रदेश नम्बर १ की कप्तान रुविना क्षेत्री प्लेयर अफ द म्याच भइन्। 

मंगलबार नै भएको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै वागमति प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट क्षतिमा १३० रन बनायो। वागमतीका लागि कञ्चन श्रेष्ठले अविजित ४७ रनको पारी खेलिन्। त्यस्तै हेलिशा गुरुङले २५ रन र अस्मिना कर्माचार्यले १६ रन बनाइन्। पहिलो विकेटका लागि कञ्चन र हेलिशाले ७२ रनको साझेदारी समेत गरिन्। कर्णाली प्रदेशका लागि दिव्या धामीले ३ विकेट लिइन्। एन्जिला क्षेत्रीले २ र निशा पराजुलीले एक विकेट लिइन्। 

१३१ रनको विजय लक्ष्य पछ्याएको कर्णाली प्रदेश १८ दशमलव ३ ओभरमा ५१ रनमा समेटियो। कर्णालीका लागि लक्ष्मी रिमालले सबैभन्दा बढी १४ रन बनाइन्। अन्य खेलाडीले दोहोरो रन अंक बनाउन सकेनन्। कर्णालीका लागि दीपा रानाले ९ रन बनाइन्। अन्य खेलाडीले ५ रन पनि पार गर्न सकेनन्। वागमतीका लागि आरती विडारी र विपिशा शाहीले तीन तीन विकेट लिइन्। त्यस्तै सोनी पाख्रिन, खुशी डंगोल र ज्ञानुका बस्नेतले एक एक विकेट लिइन्। खेलमा वागमतिकी कञ्चन श्रेष्ठ प्लेयर अफ द म्याच भइन्। 

प्रतियोगिता अन्तरगत बुधबार समूह ‘बी’ का दुई खेल हुनेछन्। पहिलो खेलमा सुदूरपश्चिम प्रदेश र विभागीय टीम एपीएफ क्लब खेल्नेछन्। बुधबारकै अर्को खेलमा गण्डकी प्रदेश र प्रदेश नम्बर २ खेल्नेछन्। 

नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता पुस  ११ गतेसम्म सञ्चालन हुनेछ। ७ प्रदेश र एक विभागीय गरी ८ टिम सहभागी प्रतियोगिता दुई समूहमा विभाजन गरी खेलाइदैछ। प्रतियोगितामा प्रथम हुने टीमले ५ लाख, द्वितीयले ३ लाख, ओम्यान अफ द सिरिज २५ हजार, बेष्ट बलरले १५ हजार तथा बेस्ट व्याट्सओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्ने छन्।


 

कमेन्ट लोड गर्नुस