सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अटो रिक्सा सञ्चालनमा लगाइएको जोरबिजोर कार्यान्वयन भएन

२०७८ पुष ४, ०७:४० कमल सावद

धनगढीः शनिबार दिउँसो जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वकील सिँह मोहनापुल–अत्तरिया ६ लेन सडकको ट्राफिक व्यवस्थापनमा खटिएका थिए। मोहनापुल–अत्तरिया ६ लेन सडकमा हुने पार्किङ, लेन उल्लङ्घन तथा अटो रिक्साको जोरबिजोर प्रणालीको बारेमा सवारी चालकलाई परामर्श दिँदै थिए। सोही समयमा हरिसिँह ऐरले लेन अनुशासन मिचेर अटो दौडाए। ट्राफिक प्रहरीको समूहले उनको अटो रोक्यो र चाबी माग्यो। तर उनले दिएनन्। त्यसपछि ट्राफिक प्रहरीले ह्विल लक गर्‍यो। प्रहरी निरीक्षक सिँहले उनलाई सम्झाए। लेन अनुशासनको बारेमा जानकारी दिए। ऐरले अर्को पटक गल्ती नहुने बताए। कारबाही भएपछि अटो छोडियो।

धनगढीमा तीन पाङ्ग्रे सवारी अटो रिक्सामा लागू गरिएको जोरबिजोर प्रणाली कार्यान्वयनमा पनि चुनौती देखिएको छ। रिक्सा चालकहरुले जोरबिजोर प्रणाली नमान्ने बताएपछि कार्यान्वयनमा चुनौती देखिएको छ। धनगढीमा अटो रिक्साको संख्या धेरै भएको भन्दै जिल्ला ट्राफिक प्रहरीले १ गतेदेखि जोरबिजोरमा प्रणाली लागू गरेको थियो। तर रिक्सा चालकहरुले मानेका छैनन्। जोरबिजोर प्रणालीमा रिक्सा सञ्चालन गर्दा दैनिकी चलाउनै मुस्किल हुने अटो चालक इन्द्र चौधरीले बताए। ‘दिनभर अटो चलाएर छाक टार्ने गरेका छौं, एकदिन पनि अटो नचलाउदा समस्या हुन्छ,’ उनले भने। तर जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले भने एकहप्ता भित्र जोरबिजोर प्रणाली पूर्ण कार्यान्वयनमा आउने दाबी गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक सिँहले अटो रिक्सा चालकले निषेधाज्ञाको समय जस्तो जोरबिजोर बुझेकाले बिरोध गरेको बताए। उनले भने, ‘लकडाउनको समय जस्तो जोरबिजोर भन्ने बुझ्नु भएको रहेछ। आधा घरमा थन्कीने आधा चल्ने। तर यस्तो हाइन्। धनगढीको मुख्य सडकमा मात्र यो प्रणाली लागू गरेका हौ। अन्य शाखा सडकहरुमा सबै नम्बरका रिक्सा दैनिक सञ्चालन गर्न सकिन्छ।’ धनगढीको मुख्य सडकमा जोर गतेका दिन जोर नम्बर र बिजोर गतेमा बिजोर नम्बर भएका अटो रिक्साले मात्र सञ्चालन अनुमति पाउने भनिएको छ। ट्राफिक चौराहदेखि क्याम्पस रोडसम्मको सडक बाहेकको क्षेत्रमा भने सबै नम्बरका रिक्साहरु सञ्चालन गर्न भनिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले अहिले सम्झाइबुझाई गर्दै आएको छ। एकहप्ता भित्र पूर्ण कार्यान्वयन गर्ने दाबी गरिएको छ। यातायात व्यवस्था कार्यालय धनगढी र धनगढी उपमहानगरपालिकाले दार्ता गरेका झण्डै १० हजार रिक्सा धनगढीमा सञ्चालनमा रहेको अनुमाग गरिन्छ। साँघुरो सडकमा धेरै रिक्सा सञ्चालनमा आउँदा ट्राफिक व्यवस्थापन मुस्किल भएको छ।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस