उप–महानगरपालिकाको बजेट पाउन सामाजिक संस्थाको वेसहारामाथि राजनिति
धनगढी उपमहानगरपालिकाले मानव सहायताका लागि विनियोजन गरेको बजेटमाथि सामाजिक संघसंस्था वेसहाराको नाममा राजनीति गर्न थालेका छन्। वेसहारालाई सहारा दिने उद्देश्यले धनगढीमा स्थापना भएका मानव सेवा आश्रमले उपमहानगरपालिकाको बजेट पाउन वेसहारामाथि राजनिति गर्न थालेको आरोप लागेको हो।
धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षको बजेटमा मानव सहायता शिर्षकमा विनियोजन गरेको १० लाख बजेट माथि उक्त संस्थाले वेसहारामाथि राजनिति गरिरहेको आरोप लागेको हो। धनगढीलाई सडक मानव रहित बनाउने लक्ष्य लिएर दुई महिना पहिले सञ्चालनमा आएको मानव सेवा आश्रमले सुदूरपश्चिम बाहिरका जिल्लाबाट समेत वेसहारालाई ल्याएर राखेको छ।
मानव सेवा आश्रमले उपमहानगरपालिकाको बजेट पाउनकै लागि सुस्त मनस्थितिका र मानसिक सन्तुलन बिग्रिएका व्यक्तीलाई ल्याएर राखेको छ। धनगढीलाई सडक मानव रहित बनाउने उद्देश्य लिएर सञ्चालन गरिएको मानव सेवा आश्रम धनगढीले सुदूरपश्चिम बाहिरका जिल्लाबाट सडक मानव ल्याएर अलपत्र छोडेको आरोप दृष्टि फाउण्डेसनले लगाएको छ।
मानव सेवा आश्रमले रुकुमको सानीभेरी गाउँपालिका वडा नम्बर ७ बाट उपचार गरिदिने भन्दै ल्याएकी मानसिक सन्तुलन ठिक नभएकी रमिता बुढाक्षेत्रीलाई अलपत्र छोडेको आरोप लगाएको छ। दृष्टि फाउण्डेसनकी सञ्चालक कल्पना भट्टले रुकुमबाट उपचार गरिदिने भन्दै मानव सेवा आश्रमले ल्याएकी महिलालाई आईतवार धनगढीको पुष्पलाल चोकबाट उद्दार गरिएको बताईन्।
उनले आफ्नो संस्था र मानव सेवा आश्रमको उद्देश्य एउटै भएपनि धनगढी बाहिरबाट सडक छाप व्यक्ती ल्याएर छोड्दा समस्या भएको बताईन्। तर मानव सेवा आश्रम धनगढीका अभियान्ता सन्तोष रिमालले ती महिलालाई रुकुमबाट नभएर अत्तरियाबाट उद्दार गरेर आश्रममा राखिएको बताए।
उनले पुष १२ गते अत्तरियाबाट उद्दार गरेर ल्याएकी बुढाक्षेत्री आश्रमबाट भागेकाले अलपत्र परेको दावी गरे। तर मानव सेवा आश्रमले ती महिलालाई अत्तरियाबाट नभएर रुकुमबाटै ल्याएको खुलेको छ। धनगढी उपमहानगरपालिकासँग आर्थिक सहयोग माग गरिरहेको र उमहानगरपालिकाले कम्तीमा १०/११ जना भए मात्रै बजेट दिने भनेकाले मानव सेवा आश्रमले कोटा पुगाउन ती महिलालाई रुकुमबाट ल्याएको खुलेको हो।
रुकुमको सानीभेरी गाउँपालिका ७ का अध्यक्ष कुल बहादुर बुढाथोकीले नै ती महिलालाई मानव सेवा आश्रम धनगढीमा पुगाएको उनको परिवारले जनाएको छ। तर अध्यक्ष कुलबहादुरले मानव सेवा आश्रममा सुर्खेतमा उपचारका लागि राख्ने भन्दै रुकुमबाट कोहलपुरसम्म आफूले लगेपनि धनगढी पु¥याउन अरुलाई पठाइएको बताएका छन्।
उनले भने,‘मानव सेवा आश्रम सुर्खेतमा राख्ने भनेर रुकुमबाट लिएको हौँ, कोहलपुर पुग्दा महिला भागेपछि म घर फर्किएको हुँ पछि उनका आफन्तले नै त्यहाँ पुगाएका होलान्।’ आफू धनगढीसम्म नआएको जिकिर उनको थियो।
धनगढी उपमहानगरपालिकाको रहोवरमा ती महिलालाई अहिले मानव सेवा आश्रमको जिम्मा लगाइएको छ। मानव सेवा आश्रमले कोहलपुरबाट समेत सुस्त मनस्थिति भएका थप तीन जनालाई ल्याएर आश्रममा राखेको छ।
आश्रमका अभियन्ता सन्तोष रिमालले धनगढी आउने क्रममा उनीहरुलाई सडकबाट उठाएर ल्याइएको जनाए। धनगढी उपमहानगरपालिकाकै बजेटका लागि बाहिरबाट सडक छाप व्यक्तीहरुलाई ल्याईएको आरोप भने उनले स्वीकार गरेनन्।
मुठी दानबाटै आश्रम चलाइरहेको दावी गर्दै उनले उपमहानगरपालिकासँग सहयोगका विषयमा कुरा भए पनि बजेट माग नगरिएको जिकिर गरे। त्यस्तै दृष्टि फाउण्डेसनकी सञ्चालक कल्पना भट्टले पनि धनगढी उपमहानगरपालिकाको बजेटका लागि नभई वेसहाराको सहाराको लागि संस्था सुरु गरेको बताईन्।
दानदाताकै सहयोगमा फाउण्डेसनमा आश्रितहरुको जिविकोपार्जन गरिरहेको बताउँदै अहिलेसम्म उपमहानगरपालिकासँग आर्थिक सहयोग समेत माग नगरेको बताईन्। यता धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओडले भने उपमहानगरपालिका क्षेत्रका सहारा विहिनहरुको उद्दार गरे/नगरेको अध्ययन गरेर मात्र बजेट दिईने जनाए। सहारा विहीनलाई उपमहानगरपालिका बाहिरबाट ल्याएर बजेट माग गरे उपलब्ध नगराईने मेयर ओडको दावी छ।