चतुरबहादुर चन्द भन्छन्, ‘महाधिवेशनमा शेरबहादुर दाईलाई सहयोग रहन्छ’
धनगढी: नेपाली काँग्रेसको बैतडी जिल्ला सभापतिमा विजयी भएका चतुरबहादुर चन्दको गणना संस्थापन इतर पक्षमा हुन्छ। तर संस्थापन अर्थात वर्तमान सभापति शेरबहादुर देउवा पक्षले पनि चन्द आफ्नो टिमको रहेको दाबी गर्दै आएको छ। संस्थापन इतरसँगै देउवा पक्षको समेत साथ पाएर जिल्ला सभापतिमा विजयी भएका चन्दले पनि महाधिवेशनमा देउवालाई सहयोग हुने बताएका छन्।
‘हुन त म संस्थापन इतर पक्षकै नेता हुँ र मेरो गणना पनि सोही अनुसार हुन्छ,’ चन्दले दिनेशखबरलाई भने, ‘तर सभापतिमा शेरबहादुर दाई उम्मेदवार भए फरक हुन्छ। सुदूरपश्चिमको नेतालाई असहयोग गर्ने कुरै हुँदैन। महाधिवेशनमा शेरबहादुर दाईलाई सहयोग रहन्छ।’ उनले प्रदेश अधिवेशनमा कुन टिमलाई सहयोग गर्नेबारे भने टुंगो नलगाएको बताए। ‘आजदेखि अधिवेशन सुरु भइरहेको छ,’ चन्दले भने, ‘छलफल गरेर आजै टुंगो लगाउने तयारी छ।’
यता काँग्रेस सुदूरपश्चिमका एक नेताका अनुसार संस्थापन इतर पक्षका महाधिवेशन प्रतिनिधि पनि यस पटक केन्द्रमा देउवालाई सहयोग गर्ने मुडमा छन्। ‘देउवा दाई अन्तिम पटकका लागि सभापति लड्दैछन्,’ ती नेताले भने, ‘सुदूरपश्चिममा संस्थापन इतरको नेतृत्व गर्ने नेताले पनि महाधिवेशनमा शेरबहादुर देउवालाई सहयोग गर्ने बताइरहेका छन्।’
संस्थापन इतर पक्षका नेता दिलेन्द्र बडूले पनि देउवालाई महाधिवेशनमा सहयोग हुने आश्वासन दिएको चर्चा छ।